समाज


माइतीघरमा दृष्टिविहीनको धर्ना, सरकारले वेवास्ता गरेको गुनासो

माइतीघरमा दृष्टिविहीनको धर्ना, सरकारले वेवास्ता गरेको गुनासो

नेपालखबर
असार १३, २०८३ शनिबार १४:२, काठमाडौँ

काठमाडौँको माइतीघर मण्डलमा धर्नामा बसिरहेका दृष्टिविहीनले सरकारले वेवास्ता गरेको गुनासो गरेका छन्। 

उनीहरू विभिन्न माग राखेर ६ दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्। धर्नामा बसेको ६ दिन हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै उनीहरू असन्तुष्टि पोखेका छन्। 

धर्नामा सहभागी दृष्टिविहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको गुनासो गरे। अब सरकारले आफूहरूका माग सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ। 

सामान्य गतिविधिमा पनि चासो राख्नेहरूले माइतीघरमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको उनले बताए। ‘हामीले खासै केही आशा गरेका छैनौँ किनभने उहाँ उदयपुरमा हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाएको देख्नुहुन्छ, माईतीघर मण्डलामा हाम्रो धर्ना देख्नुहुन्न भनेपछि के आशा गर्ने होला तपाईं आफैं कल्पना गर्नुहोस्,’ उनले भने। 

धर्नामा बस्दै आएका दृष्टिविहीनले सरकारले चाँडै वार्ताको वातावरण सिर्जना गरी आफ्ना माग पूरा गर्नुपर्ने बताए। माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्। 

सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपक्कड गर्ने, जबर्जस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए। 

सरकारले आफूहरूलाई विकल्पविना सडकमा समेत गरिखान नदिएको उनको गुनासो छ। उनीहरूले बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad