ad ad

समाज


महाकालीको किनारमा बालुवा चाल्नेहरू...

महाकालीको किनारमा बालुवा चाल्नेहरू...

तस्बिर : गोकुल जोशी


गोकुल जोशी
जेठ १३, २०८० शनिबार १४:३९, काठमाडौँ

जेठको एक मध्यान्ह, मलुवार(तराईं)को उखर्माउलो गर्मी।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदी किनारमा असिनपसिन केही मानिस खाल्डा खनेर गिट्टी र बालुवा निकालिरहेका छन्। त्यसका स-साना थुप्रा लगाएका छन् चाल्नका लागि। नजिकै छ छान्ने जाली। साथमा कुटो र फरुवा।

कोही बालुवा निकाल्ने, कोही गिट्टी बालुवा छुट्टाउने त कोही त्यसलाई जालीनजिक पुर्‍याएर थुप्राउने काममा व्यस्त छन्। बम्हदेवस्थित महाकाली किनारमा बालुवा छान्ने श्रमिकहरूको दैनिकी हो यो।

नदीतटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत यही हो।

ब्रह्मदेवकी कलावती पालले महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भयो। दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उनको चुलोमा आगो बल्छ। ‘घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरु केही काम पाइदैँन,’ उनी भन्छिन्, ‘बालुवा नछानेको दिन भोकै बस्नु पर्ने अवस्था छ।’

कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। यो दम्पत्तीका ४ छोराछोरी छन्।

‘खेतीपाती गर्न प्रयाप्त जमिन छैन, बस्नलाई झुप्रो मात्रै छ’, मानसिंह भन्छन्, ‘महाकालीकै भरमा जीवन चलेको छ। गहुँ, चामल किनेरै खानुपर्छ।’

महाकालीको बालुवा छानेर ब्रह्मदेवकी चन्द्रा भुलको आधा जीवन बित्यो। सबेरै खाना खाएर निस्किएपछि बेलुका अबेरसम्म महाकालीमा बालुवा छान्नु उनको दैनिकी हो। 

‘यहीँ गिट्टी, बालुवा संकलन गरेर बिक्री गर्छौँ, हाम्रो आम्दानीको स्रोत यही हो,’ उनले भनिन्, ‘खाद्यान्न खरीददेखि बालबच्चाको विद्यालयको खर्च यहीँबाट आउँछ।’

धौली नेगीको कमाइको स्रोत पनि यही महाकाली मात्रै हो। घरखर्च चलाउन धौधौ छ उनलाई। 'नुन, तेल, खाद्यान्न किन्नैपर्‍यो, कमाइको स्रोत यही हो,' उनी भन्छिन्, 'वर्षमा बर्खामा बाहेक हामी यहीँ हुन्छौँ, ७-८ महिना यतै बालुवा चाल्छौँ, तर वर्षभरि खर्च चलाउन मुस्किल छ।'

कात्तिकको सुरुवातदेखि जेठ अन्तिमसम्म नदीतटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्छन्। बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उनीहरुको गुनासो छ।

‘कात्तिकदेखि जेठसम्म नदीमा काम पाइन्छ, चार महिना बेरोजगार बस्नुपर्दा घरखर्च चलाउन समस्या हुन्छ,’ चन्द्रा भुलले सुनाइन्, ‘गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौँ।’

उनीहरूले गिट्टी बालुवा बेचेर मासिक  १५ हजारसम्म आम्दानी गर्ने गरेका छन्। प्रतिट्रली बालुवा १ हजार ५ सय र गिट्टी २ हजार ७ सयमा बिक्री हुने गरेको छ। ‘एक मान्छेलाई ट्रली बनाउन हप्ता दिनभन्दा बढी लाग्छ, दुई/तीन जना मिलेर गरे दुई/तीन दिनमा पनि ट्रली तयार हुन्छ,’ दूरा भुल भन्छिन्। तर बजारमा पुर्‍याउन भने त्यस्तो असहज छैन। उनी भन्छिन्, ‘ट्रयाक्टर धनी यहीँ आएर किनेर लान्छन्।

बजारमा सबै सामानको मूल्य बढेको छ। छोराछोरीको शुल्कदेखि भान्साका सामानसम्मको मूल्यले आकाश छोएको छ। तर वर्षौँदेखि गिट्टी-बालुवाको मूल्य समायोजन नहुँदा दैनिकी दिनप्रतिदिन असहज हुँदै गएको गुनासो उनीहरूको छ।

‘म पहिलोपटक यहाँ काम गर्न आउँदा गिट्टी-बालुवाको मूल्य जति थियो अहिले पनि त्यति नै छ,' भुलले भनिन्, 'सबैतिर महँगाइ छ, तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन।’

कहिलेकसो भने महिनौँ काम गरेको गिट्टी बालुवा पनि बिकिदिन्न। त्यसबेला घरखर्च चलाउन सस्तोमा पनि बेच्न परेको गुनासो उनीहरूको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .