नेपाली भूभागमा चीनले भवन निर्माण गरेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा क्षेत्रमा पुगेको छ।
नाम्खा गाउँपालिका ६ को लाप्चामा चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको छ। सुरुमा एउटा मात्रै भवन बनाएको चीनले त्यो भवन छाड्ने बताएको थियो। तर पछि त्यही ठाउँमा थप भवन बनाएको पाइएको छ।
भदौ १५ गते हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी लगायत गाउँपालिकाका कर्मचारी त्यसक्षेत्रमा पुग्दा भवन बनाएको पाइएको थियो।
त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी गिरीले चिनियाँ पक्षसँग कुरा गरेका थिए। उनको नेतृत्वमा गएको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुुसन्धान विभाग र गाउँपालिकाका अध्यक्ष समेत सहभागी छन्।
शनिबार नाम्खा गाउँपालिका ६ को लाप्चातर्फ प्रस्थान गरेको टोलीले चिनियाँ पक्षसँग वार्ता गर्ने बुझिएको छ। तर त्यसक्षेत्रमा टेलिफोन सम्पर्क नहुने भएकाले पछिल्लो जानकारी लिन नसकिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।
तर नाम्खा गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले भने सोमबार त्यसक्षेत्रबाट टोली फर्किंदै गरेको जानकारी गराएका छन्।
सोमबार दिउँसो नेपालखबरसँग कुरा गर्दै पोख्रेलले भने, ‘टोलीसँग भर्खरै कुरा भएको थियो उहाँहरु फर्किंदै हुनुहुन्छ, यसबीचमा के के भयो भन्ने जानकारी मैले पनि पाएको छैन।’
प्रतिक्रिया