कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतीय पक्षले हुलाकी राजमार्ग निर्माणको काममा अवरोध सृजना गरेको छ।
हुलाकी राजमार्ग अन्तर्गत बेलौरी नगरपालिका–८ पचुईमा भारतीय पक्षले कालोपत्रे गर्न अवरोध गरेको हो।
दादागिरी शैलिमा ठूलो हुलसहित आएका भारतीयले सडक निर्माणमा अवरोध सृजना गरेको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले बताए।
भारतको सशस्त्र सीमा बल (एसएसबी) सहित भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारी आएर जिपिएस नक्सा अनुसार सडक निर्माणस्थल भारतीय भूमिमा पर्ने भन्दै सडक निर्माणमा अवरोध सृजना गरिएको उनले बताए।
नेपाल र भारततर्फका सुरक्षाकर्मीहरु कुराकानी गर्दै।
बेलौरी नगरपालिका–८ पचुईस्थित नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडकमा बेस राखेर कालोपत्रे गर्ने तयारी छ। तर भारतीय अवरोधले अहिले कालोपत्रे गर्न नसकिएको निर्माणको जिम्मा पाएको सिद्धिशाही निर्माण सेवाले जनाएको छ।
आइतवार ठूलो हुलसहित सडक निर्माणस्थलमा आएर निर्माणको काम रोक्न नेपाली पक्षलाई भारतीय पक्षले चेतावनी दिएको हो।
सो क्षेत्रमा भारतीय पक्षले जहिले पनि सडक निर्माणमा अवरोध गर्दै आएको छ।
गतवर्ष पनि एसएसबीले सडक निर्माणमा अवरोध गरेको थियो।
बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाका अनुसार डिआईजी, भारतीय एसएसबी, त्यहाँको स्थानीय प्रहरी, डिएम, स्थानीय सहित २ सय ५० भन्दा बढि मानिस आएर सडक निर्माण रोक्न भनेको हो।
सडक निर्माण कार्य रोकिएपछि जम्मा भएका नेपाल तर्फका स्थानीयवासी र सुरक्षाकर्मी।
सडक निर्माण कार्यको जिम्मा पाएको सिद्धिशाही निर्माण सेवाका सञ्चालक चक्र शाहीले भारतीय पक्षको अवरोधका कारण कालोपत्रेको काम रोकिएको बताए।
उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दुवै पक्षका अधिकारी बसेर निकास निकालिने जनाएको छ।
‘दशगजामा सडक निर्माण गरेको भनेर निर्माण रोक्न भनिएको बुझिन आएको छ। दशगजामा कालोपत्रे गर्न पाइदैन। यद्यपी हामी पनि त्यहाँको वस्तुस्थित अनुगमन गर्दैछौँ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरी खतिवडाले भने, ‘दुवै पक्ष बसेर छलफल गर्छौ।’
Shares

प्रतिक्रिया