समाज


प्रधानमन्त्रीले प्रहरी-प्रशासनसँग सोधे: पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो?

प्रधानमन्त्रीले प्रहरी-प्रशासनसँग सोधे: पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो?

पत्रकार शैलेन्द्र महतो


नेपालखबर
साउन ३१, २०८२ शनिबार ९:३४, जनकपुरधाम

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा वकिलहरूले पत्रकारहरूमाथि गरेको आक्रमणप्रति चासो देखाएका छन्। 

शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोसहितका पत्रकारमाथि वकिलहरूबाट अंगभंग हुनेगरि भएको आक्रमणप्रति चासो व्यक्त गरेका हुन्। 

‘पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो?’ सभास्थलमै रहेका पत्रकार महतोलाई इंगित गर्दै प्रधामन्त्री ओलीले भने, ‘यस विषयमा म प्रहरी प्रशासनको ध्यानाकर्षण गर्न चाहन्छु। वार्ता र संवादबाट समाधान हुने विषयमा जोरजुलुम गर्ने परिपाटीको अन्त्य हुनुपर्यो।’

पत्रकार महासंघले कानुनी प्रक्रिया पूरा गरेर गुठी संस्थानबाट प्राप्त गरेको जग्गा संरक्षण गर्न खोज्दा नेपाल बार एसोसिएसनमा आवद्ध वकिलहरूले यही साउन २७ गते पत्रकारहरूमाथि आक्रमण गरेका थिए।

वकिलको आक्रमणमा परेर पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, महिला उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालासहित आधा दर्जन पत्रकार घाइते भएका थिए। 

पत्रकारहरूमाथि गुण्डागर्दी शैलीमा भएको आक्रमणको पत्रकार महासंघसहितका संघ-संस्थाले निन्दा गरेका छन्। 

आफूहरूले सबै कानुनी प्रक्रिया पूरा गरेर गुठी संस्थानबाट लिजमा प्राप्त गरेको जग्गा संरक्षण गर्न खोज्दा बार एसोसियनले अवरोध गरेको पत्रकार शैलेन्द्र महतोले बताएका छन्। 

यस सम्बन्धमा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विवरण यस्तो छ:

वैसाखी टेक्ने दिन पनि जीवनमा आउला भन्ने कहिल्यै कल्पना गरेको थिइन। हरेक विधि प्रकृया पूर्याएर नेपाल पत्रकार महासंघ मधेशले वार्षिक ३ लाख १ हजार रुपैयाँ तिर्नेगरी गुठी संस्थानबाट लिजमा प्राप्त गरेको ४ कठ्ठा जग्गामा वकिलहरुले यति तिकडम, जालझेल, कब्जा प्रयास गर्छन् र त्यसक्रममा यो दुर्दशा भोग्नु पर्छ भन्ने कुरा कल्पना बाहिरको थियो।

महासंघ मधेश प्रदेशको तेस्रो कार्यकालको लागि मंसिर २८ गते भएको निर्वाचनमा म महासचिव निर्वाचित भएँ । महासंघको पहिलो बैठकको निर्णय अनुसार हामी पुस देखि प्रादेशिक भवन निर्माणको निम्ति जनकपुरमा जग्गा खोजीमा लाग्यौं । तत्काल कार्यालय सञ्चालनमा ल्याउने गरि उपयुक्त घर भाडामा खोज्ने काम भयो । कागजी प्रकिया गर्नु मुख्य काम महासचिवको हो । र त्यसमा पनि जनकपुरधाममा बसाइ भएकाले महासंघको प्रायः कामकारबाहीमा सामेल हुने दायित्व नै रह्यो । जग्गा खोजीको क्रममा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित प्रादेशि जनस्वास्थ्य प्रयोगशालाको अगाडि तथा स्वर्गद्वारीको दक्षिण छेउमा रहेको तैनाथी गुठी अर्थात् श्री राम मन्दिरको ४ कठ्ठा जग्गा खाली रहेको, कसैलाई उपलब्ध नगराएको गुठी संस्थान जनकपुरकै प्रमुख आनन्द कर्माचार्यबाट जानकारी पायौं । त्यो जग्गाको माग धेरै संस्थाबाट आएको, तर दिँदा गुठी संस्थानले गुठी ऐन अनुसार टेण्डर निकालेर मात्र लिजमा दिने कुरा उहाँले प्रष्ट पार्नु पर्यो । यधपी प्रक्रियागत ढंगबाट मागको लागि वडाको सिफारिस, ट्रेस नक्सा, फिल्डबुक उतार नक्सासहहित जग्गा उपयोगीताको प्रयोजनसहित निवदेन दिन भन्नुभयो । हामीले निवेदन दियौं । यो एकचरणको प्रक्रिया थियो । यधपी यस बमोजिम जग्गा प्राप्त हुने अवस्था रहेन । यो महासंघको लागि एउटा पलस प्वाइन्ट मात्र भयो।

गुठी संस्थानले मिति २०८२ जेठ ७ गते ४ कठ्ठासहित जनकपुरको तीन ठाउँको जग्गा लिजमा दिन गोरखापत्रमा सूचना प्रकाशन गरी टेन्डर आह्वान गर्यो । ३५ दिन भित्र प्राविधिक र आर्थिक प्रस्तावसहित टेन्डर भर्न आह्वान गरिएको थियो । त्यस बेलासम्म उक्त चारकठ्ठा जग्गामा फोहोर फाल्ने ठाउँ र झारपात मात्र थियो । गुठी संस्थानले सूचनामा भनेको प्राविधिक र आर्थिक प्रस्ताव दक्ष प्राविधिक÷इन्जिनियरसँग समन्वय गरि महासंघले तयार गर्यो । त्यसको लागि म स्वयं महासचिव भएकोले २० दिन चिन्तन मनन र मिहिनेत गरेको थिएँ । र आर्थिक प्रस्तावमा अध्यक्ष श्याम प्रसाद बञ्जारालगायत साथीले मिहिनेत गर्नु भयो । प्राविधिक र आर्थिक प्रस्ताव सूचना बमोजिम समयमै महासंघले उक्त जग्गाको लागि प्रस्ताव पेश गर्यो । उक्त ४ कठ्ठा जग्गाको लागी महासंघ सहित चारवटा संस्थाले आवेदन दिएको थियो । जसमा वकिलहरुको छाता संगठन बार एसोसिएसन सहभागी नै भएन ।

यस बीचमा त्यस जग्गामा गंगासागरको पूर्वी किनारामा रामनारायण मिश्रको स्मृति पार्क निर्माणको लागि खनिएको माटो त्यही चार कठ्ठा जग्गामा थुपारेको थियो । जब उक्त जग्गाको लागि टेण्डर आह्वान गरेको वार एसोसिएसन जनकपुरले थाहा पायो । टेन्डर भरेन । तर उक्त जग्गा थुपारेको माटो डोजर लगाएर सम्यायो । साउन २ गते गुठी संस्थानले तीनवटै जग्गा प्रस्ताव स्वीकृतको गोरखापत्रमा पुनः सूचना प्रकाशित गरायो । जसमा ४ कठ्ठा जग्गाको लिज सम्झौताको लागि नेपाल पत्रकार महासंघको प्रस्ताव स्वीकृत भयो । उक्त जग्गाको वार्षिक लिज सम्झौता महासंघले ३ लाख १ हजार भरेको थियो । उक्त जग्गा पाउने भएपछि हामी खुसीले गदगद भयौं । खबर विभिन्न सञ्चार माध्यमा सार्वजनिक भयो । यो खबर पछि त्यसको भोलि÷पर्सी पल्ट नेपाल बार एसोसिएसनको पार्किङ स्थल भनेर त्यहाँ स्वर्गद्वारीको छेउको भित्तमा बोर्ड झुन्ड्याइयो । सम्झौता नभएसम्म किन केही बोल्ने भनेर उचित ठानेनौ।

गुठी संस्थानले साउन ९ गते महासंघलाई उक्त जग्गा सम्झौता गर्न आउन गत साउन ९ गते पत्र पठायो । एक वर्षको लिज रकम ३ लाख १ हजार गुठी संस्थानको खातामा जम्मा गरेको भौचरसहित साउन १९ गते गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौं त्रिपुरेश्वरकोमा महासंघका प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष अम्बिका दहाल, म महासचिव स्वयं, सचिव हदिश खुद्दार र सदस्य अजय साह पुग्यौं । त्यस अवसरमा महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रीय लेखासमिति संयोजक केसी लामिछाने, प्रेस चौतारीका केन्द्रीय महासचिव हितमान लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनार्दन पोखरेल सहितको उपस्थितिमा गुठी र महासंघबीच दुई पक्षीय लिज सम्झौता भयो । यसरी व्यवसायीक भवन निर्माणको निमित्त महासंघलाई लिजमा जग्गा प्राप्ति भयो।

यो खबर विभित्र मिडिया मार्फत सार्वजनिक गरेपछि त्यही दिन बार एसोसिएसनमा वकिलहरुको अकास्मिक बैठक बस्यो । अब त्यो जग्गा लिजमा आधिकारिक महांघको भयो, अब के गर्ने भनेर छलफल भएको हामीले केही वकिलबाट जानकारी पायौं । बारले छलफलमा जसरी पनि त्यो जग्गा कब्जा गर्ने रणनीति लियो । साउन २० गते बार एसोसिएसनले उक्त जग्गा बार एसोसिएसनको पार्किङ स्थल रहेकोले अनिवार्य रुपमा वकिलहरुलाई आफ्नो सवारीसाधन पार्किङ गर्न उर्दी सहितको सूचना जारी गर्यो।

यति हुँदा पनि हामीले अहिले किन केही गर्ने, जग्गा लिजमा आधिकारिक महासंघको भइसक्यो, भवन बनाउनको लागि नक्सा, डिपिआर सहितको प्रक्रिया पूरा गर्न समय लाग्छ भनेर तत्काल खाली जग्गामा पार्किङ गरे फरक नपर्ने बुझाई सहित चुप बस्यौं । निर्माणको बेला समस्या भए त्यस बेला संवाद गर्ने भन्ने भयो।

तर देशको न्याय प्रणालीलाई बलियो बनाउने र कानूनी शासनको पक्षमा उभिने अग्रपंक्तिको संस्था बारले साउन २५ गते महासंघले आधिकारिक रुपमा पाइसकेको जग्गा कब्जा गर्न अघि बढ्यो । बिहानैदेखि फलामे पिलर गाडेर घेरबार गर्न थाले । थाहा पाउने बितिकै महासंघका प्रदेश सचिव हदिश खुद्दार, उपाध्यक्ष ज्योती झा, धनुषा अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत पुगेर रोक्न लगाउनु भएको थियो । प्रहरी बोलाएपछि पिलर गाड्ने काम रोकियो । उहाँहरु त्यहाँबाट महासंघ धनुषामा पुगेपछि फेरि वकिलहरुले सबै पिलर गाडे।

त्यसपछि उहाहरुसहित पत्रकारहरु घनश्याम मिश्र, हरिवंश यादवसहित पुग्नु भयो । र त्यहा वादविवाद सुरु भयो । त्यस क्रमम संवादको लागि बार एसोसिएसनकै आग्रहमा त्यही सभाकक्षमा उहाँहरु बसेर संवाद सुरु भयो । त्यस लगतै सम्झौताको प्रतिलिपीसहित म पनि पुगें । महासंघका केन्द्रीय राजेश कर्ण, लगतै अध्यक्ष श्याम बञ्जारा, सदस्य प्रतिभा झा, त्रिलोकी यादव, विनोद परियार समेत पुग्नु भयो । सभाहलमा भरिभराउ आधिवक्तासमेत वकिलहरुले त्यो हाम्रो पार्किङ स्थल हो, तपाईहरु किन टेन्डर भरेको, सम्झौता नै गैरकानुनी हो, त्यो खारेज हुन्छ लगायतका धम्की दिन थाले।

हामीले तपाईंहरु प्रक्रियामै नजाने, कानुनी रुपमा पाइसकेको हाम्रो जग्गा कब्जा गर्न मिल्छ भने पछि उनीहरु त्यति लामो प्रकियामा किन जाने, हामी कब्जा गर्छौं, अड्डा अदालत हाम्रो हो, तपाईंहरु केही गर्न पाउनु हुन्न लगायत फेरि धम्कीको वर्षात गर्न थाले । उनीहरुसँग कुतर्क विवाद भन्दा हामी उपस्थित पत्रकारहरु सम्झौताको प्रतिलिपीसहितको निवेदन लिएर जिल्ला प्रशासन कार्यालय पुग्यौं । प्रजिअले उनीहरुलाई फोन गरेर संवादको लागि बोलाउनु भयो, वकिलहरु बसहमा छौँ, ५ बजेपछि आउछौं भनेपछि हामी फर्कियौं । ५ बजे बारका पदाधिकारी पुगे, र यो विवाद हामी महासंघका पदाधिकारीसँग संवाद गरेर समाधान गर्छौं भन्दै सिडिओलाई भनेर फर्किए। हामीलाई बारबाट संवादको लागि फोन आयो । हामी बारको सभाकक्षा पुग्यौं। एक घण्टा भन्दा बढी संवाद भयो।

संवादमा त्यही छेउमा ३ कठ्ठा गुठीको अर्को जग्गा खाली रहेको सुनिएकाले बार प्राप्तिको प्राकृयामा जाने, महासंघले त्यसमा सक्दो सहयोग गर्ने, आवश्यक परे १३ फिट बाटो दिने, सव लिजमा केही जग्गा दिँदा बारलाई प्राथमिकता दिने, तत्काल पार्किङ गर्न कुनै अवरोध नहुने र बारले उक्त जग्गामा गाडेको फलामे पिलर भोलिपल्ट हटाउने दुबैपक्षबीच मौखिक सहमति भयो । हामी ढुक्क भएर फर्कियौं । भोलि पल्ट दिउँसो बारले मौखिक सहमति गर्नु अघि नै गुठी संस्थानसमेत महासंघमाथि उत्प्रेषण रिट हालेको वेबसाइटमा हेर्यौं । बारको विश्वास घातले हामी अचम्मित भयौं । जे भएपनि कानुनी उपचार त ठिके हो । तर एका तर्फ जग्गामा पिलर गाड्ने, अर्को तर्फ मौखिक सहमित गर्ने र फेरि सहमति विपरीत अदालतमा मुद्दा पनि दिने बर जस्तो गरिमा बोकेको संस्थाको यो हर्कत ठीक भएन ।

यस बारेअकास्मिक पत्रकारहरुको बैठक बस्यो । के कसरी अघि बढ्ने छलफल भयो । भोलिपल्ट त्यही जग्गामा पत्रकार सम्मेलन गर्ने निर्णय भयो । पत्रकार सम्मेलन भयो । त्यही क्रममा पत्रकारहरुले यो जग्गा लिजमा हाल महासंघको रहेकाले संरक्षणको समेत दायित्व रहेको र अदालतको अन्तिम निर्णय नआएसम्म कब्जा गर्न बारले गाडेकै पिलरमा तारबार गर्ने कुरा भयो । त्यतिबेलासम्म अदालतमा भएको मुद्दाको औपचारिक जानकारी समन, म्याद बुझ्ने कागजात महासंघले पाइसकेको थिएन । त्यस दिन ३ बजेपछि मात्र महासंघमा अदालतबाट समन आयो।

तारबार गर्ने र डोजरले समेत त्यसमा गाडी नछिरोस् भनेर खन्ने क्रममा वकिलहरु ६०-७० जनाको संख्यामा आएर तथानाम गालीगलौज, धम्कीदिन थाले । हामी पत्रकार त्यतिबेला करिब २० जनाको संख्यामा मात्र थियौँ । एकजना बण्डी लगाएका कार्की थरका वकिल हाम्रा प्रदेश अध्यक्ष श्याम बञ्जाराको अगाडि आएर जग्गा छिर्न खोजे, अहिले हाम्रो जग्गा छिर्न पाउनु हुन्न भनेपछि उनैले अध्यक्ष बञ्जारालाई धक्का दिए आक्रमण सुरु गरे । यसपछि अवस्था असहज भयो । सबै वकिलले महासंघको अध्यक्ष बञ्जारालाई लक्षित गरी कुटपिट गर्ने प्रयासमा लागे, हामी उपस्थित पत्रकारहरु उहाँलाई जोगाउने प्रयासमा लाग्यौं।

यसै क्रममा उनीहरुको भीडको धक्कामुक्कीमा म एकपटक लडे, भिड पनि जिउमा ढले । मेरो बायाँ खुट्टाको कान्छो औंला तर्फको भागमा समान्य चोट र मोच परेको महसुस भयो । अलिअलि दुख्न थाल्यो । त्यही बेला भीडले अध्यक्ष बञ्जारालाई तथानाम गालीगलौजसहित कुट मार भन्दै झन् आक्रमक भएर लागे । यसको कारण हो उहाँ वीरगन्जका हुनुहुन्छ । प्रहरी आएर उहाँलाई रेस्क्यू गरेर जिल्ला प्रहरी तिर लग्न खोज्दा दौडेर केही वकिल मुर्की समेत बजारे । अभद्र अत्यन्त तल्लो स्तरको अश्लील शब्दमा गालीगलौनसहित उहाँलाई प्रहरीबाट खोसेर पुनः आक्रमणको प्रयास गरे।

म लगायत केही साथी बचाउन पछपछि दौड्यौ । प्रहरीले उहाँलाई मोटरसाइकलमा जिल्ला लगे । म हिड्दै तुरुन्त जिल्ला प्रहरी पनि पुगे । त्यहाँबाट जिल्ला प्रशासन कार्यालय पुग्यौं । त्यहाँबाट महासंघ धनुषामा फर्के । मोच परेको ठाउँ सुनिन्दै गयो । पत्रकार दिवाकर टाउकोमा चोट लागेको पीडाले छटपाइ रहेका थिए । पत्रकार अनिल निरालाको अनुहारमा चोट थियो । अध्यक्ष बञ्जाराको समेत शरीरको विभिन्न भागमा।

मैले तत्कालै पीडाले छटपटाइरहेका दिवाकरलाई स्कुटीमा चढाएर अस्पताल पुर्याएँ । सँगै अर्को मोटरसाइकलमा अनिल निरालालाई लिएर पत्रकार मुकेश ठाकुर पनि पुग्नु भयो । मैले चिकित्सकलाई भनेर दिवाकर र अनिल निरालालाई यथाशीघ्र पीडा कम हुने सुई लगाउन आग्रह गरे । मलाई समान्य मोच छ एक्स्रे गराएपछि मात्र केही औसधि खान्छु, त्यति खासै पीडा छैन चिकित्सकलाई भने । एक्स्रे गराएपछि मोच परेको ठाउँमा फ्याक्चर भएको पुष्टि भयो । जब चिकित्सकले अब पलास्टर गरेपछि ६ हप्ता बेड रेस्ट र वैशाखीले हिड्नु पर्ने सल्लाह दिनु भयो, जेलमा पर्ने जस्तै पीडा हुन थाल्यो । सँधै डुल्ने रिपोर्टिङ गर्ने मान्छे म अहिले शौचालयदेखि बेड र बेडदेखि शौचालय पुग्न बैशाखी टेक्दै कोठामा थन्किन बाध्य छु । कानुनी रुपमा अघि बढ्दा पनि यति झेल्नु पर्दोरहेछ । तर केही वकिलहरु मैले नाटकको अभिनय गरेको भनिरहेका छन् । खैर उनीहरुको पेशामा त्यो जायज छ । दुई बौद्धिक निकायको बीचमा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो । तर घटनाको दोषी र जिम्मेवार को?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad