समाज


खोटाङ दुर्घटना: यी हुन् मृतक र घाइते

दुर्घटनामा परेको माइक्रोबसका चालक फरार छन्
खोटाङ दुर्घटना: यी हुन् मृतक र घाइते

नेपालखबर
साउन २०, २०८२ मंगलबार ७:२१, काठमाडौँ

खोटाङमा सोमबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबैको पहिचान खुलेको छ। 

हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरेका यात्रु सवार प्रदेश २-०१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटनामा परेको हो। 

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

दुर्घटनामा सिराहाको नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ममतादेवीलाई उपचारको लागि उदयपुरको कटारी अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन्।  

दुर्घटनामा नराहकै  ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव,  ४० वर्षीया मिथिलाकुमारी यादव,  ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, नराह २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव, धनुषाको सबैला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव र झालुदेवी यादव घाइते भएका छन्। 

घाइते सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

दुर्घटनाका सामान्य घाइतेहरुको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्। माइक्रो बसका चालक सिराहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह भने दुर्घटनापछि फरार छन्।

उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ। माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad