समाज


महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि, वैशाखयता मात्रै १६० जनालाई सर्पले टोक्यो

महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि, वैशाखयता मात्रै १६० जनालाई सर्पले टोक्यो

नेपालखबर
असार ८, २०८२ आइतबार ६:५, महोत्तरी

महोत्तरीमा  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्। असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै यहाँ सर्पदंशका घटना बढेका हुन्। 

असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताए। 

‘गर्मीयाम र पानी परेपछि सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्तो बेला घटना बढ्छन् । गर्मीमा हावा खान र वर्षामा दुलो पानीले भरिँदा सर्प बाहिर निस्कने र यस्तै बेला सर्पदंशका घटना बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने। 

सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ। वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्यक सतर्कता अपनाउन केन्द्रका प्राविधिक प्रमुख चौधरीले सबैलाई आग्रह गरे।

विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ। यस वर्षको वैशाखदेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्याङ्कमा उल्लेख छ। वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ।

सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ। सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन्।

सर्पको खानी भनिने बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडा बस्तीमा विगतको तुलनामा सर्प घटेका पाइएको केन्द्रको सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाको बताए। जताततै पर्ती जग्गा खनजोत गर्ने र घर बनाउने क्रम बढेसँगै १० वर्ष पहिले भन्दा अहिले यहाँ विषालु सर्प घट्दै गएका उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad