धनुषाको विदेहमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
विदेह नगरपालिका-५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुरको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक डीएसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
‘दुई दिनअघि नै महिलाको हत्या भएको अवस्थामा शव फेला परेको हो,’ तिवारीले नेपालखबरसँग भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ। थप विववरण पछि सार्वजनिक गर्छौं।’
धारिलो हतियारले काटेर शरीर र टाउको अलग गरेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ। उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको हो।
शरीरबाट अलग गरिएको टाउको भने नजिकै रहेकाे कमला नदीको नहरमा भेटिएको तिवारीले जानकारी दिए। तिवारीका अनुसार मृत महिलाको शरीर नग्न अवस्थामा थियो। उनकाे बलात्कारपछि हत्या भएकाे हुनसक्ने स्थानीयले बताएका छन्।
महिलाका पति वैदेशकि रोजगारीमा छन्। मंगलबार साँझ रामपरी घाँस काट्न गएदेखि बेपत्ता थिइन्। खोजतलासको क्रममा बुधबार दिउँसो उनको शव फेला परेको हो।
‘घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेर हामीले घटना अनुसन्धान अघि बढाएका छौँ,’ तिवारीले भने।
Shares

प्रतिक्रिया