समाज


सिराहामा हिउँद नलाग्दै सुक्न थाले खोला

सिराहामा हिउँद नलाग्दै सुक्न थाले खोला

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १२:२५, सिराहा

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जान थालेपछि चिन्ता बढेको छ।

गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ।

दैनिक १०/१५ गाग्री पानी ओसार्ने चमेलीले सुक्दै गरेको खोलातर्फ देखाउँदै सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै चिन्ता व्यक्त गरिन्।

‘दिनदिनै खोलाको पानी सुक्दै जान थाल्यो। अबको एकरदुई दिनमा गाग्रो भर्नै समस्या होला जस्तो छ’, गाग्रोमा पानी भर्दै गरेकी उनले भनिन्, ‘हिउँदको छ महिना पूरै गाउँ काकाकुल हुन्छ । खोला, इनार, कुवा सबै सुक्छन् । मान्छेलेसमेत तिर्ख मेट्ने मुस्किल हुन्छ, बस्तुभाउको के कुरा।’

चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्माले बताए । उनले भने, ‘मङ्सिर नलाग्दै पानीका स्रोत सुक्न थाले । पानीकै चरम अभावले बसाइँ सर्ने अवस्था आइसक्यो । न त अघाउञ्जेल पानी पिउन पाइन्छ, न त कुनै बालिनाली सप्रिन्छ । हाम्रो त उठीबासको अवस्था छ।’

हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उनले दोहो¥याए । दुई दशकदेखि खोरिया गाउँमा बस्दै आएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उनको भनाइ छ।

उनले भने, ‘आसैआसमा जिन्दगी जानेभो हजुर । हामी गरिबको लागि कुनै सरकार रहेनछ।’ अन्नको नाउँमा परम्परागत कोदो खेतीमात्र वर्षमा एक पटक उत्पादन गर्नु यहाँका किसानको बाध्यता हो । अन्य बाली खडेरीले खाने विश्वकर्माको भनाइ छ।

खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जानकारी दिए। चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने वडाअध्यक्ष बराहीले प्रतिबद्धता व्यक्त गरे।

जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका अधिकांश क्षेत्रका कुवा, इनार र खोला सुक्ने हुँदा नगरपालिकाको मात्र नभएर देशकै लागि चुनौती बन्दै गएको नगरप्रमुख श्रवणकुमार यादवको भनाइ छ। अघिल्लो वर्षको हिउँद समयमा कतिपय सुख्खा क्षेत्रमा ट्र्याक्टरमा पानी ओसारेर गाउँबस्तीतिर वितरण गरेको स्मरण गर्दै स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको उनी बताउँछन्।

‘नगरपालिकाले चुरेक्षेत्रलाई लक्षित गरि यस आर्थिक वर्षमा तीनवटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसमध्ये वडा नं ९ को घुर्मीमा एउता बोरिङ चालु गरिएको छ । अन्य स्थानमा त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘स्थानीय स्रोत र साधनकले मात्र सम्भव छैन । त्यसका लागि प्रदेश तथा केन्द्रमा पनि पहल गरिरहेका छौँ । पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ।’ 

उनले नगरका उत्तरी भेगका खोरिया, रामपुरा, सुन्दरपुर, ननुवा लगायतका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय चुरेक्षेत्रमा पानीका सतह गहिरिँदै जाँदा ठूला ‘डिपबोरिङ’ असफल भइरहेकाले यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकार बताउँछन्। 

वातावरणविद् दिनेश यादव भन्छन्, ‘डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ। त्यसैले चुरे संरक्षणका साथै यहाँका वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad