समाज


राजमार्गमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिएपछि...

राजमार्गमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिएपछि...

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १०:११, काठमाडौँ

बाराको पथलैया जंगलमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवा बाघको आक्रमणबाट घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया-निजगढ सडकखण्डमा पर्ने पिलुवा नजिकैको जंगलमा बुधबार साँझ मोटरसाइकलमा सवार दुई युवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घटनास्थल जितपुर सिमरा उपमहानगरपालिका- १६ भद्रकाली भन्ने ठाउँमा पर्छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार बाघको आक्रमणबाट घाइते भएका दुई युवाको सामुदायिक अस्पताल निजगढमा उपचार भइसकेको छ।

पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको बाघले गुडिरहेको मोटरसाइकलमा आक्रमण गर्दा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका- ३ का राजु साह र सोही ठाउँका कृष्ण साह छन्। 

‘राजुले चलाएको ना३६प ५०११ नम्बरको मोटरसाइकलको पछाडि कृष्ण बसेका रहेछन्। उनीहरु पथलैयाबाट निजगढतिर जाँदै गर्दा साँझको समयमा सडक पार गर्दै गरेको बाघले आक्रमण गरेछ,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘घाइते दुबै खतरामुक्त छन्।’

एक्कासी जंगलबाट निस्केको बाघले आफूलाई हातमा टोकेर लडाएको घाइते राजुले बताएका छन्। बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ।

‘बाघले आक्रमण गरेपछि दुबै युवा मोटरसाइकलबाट लडेछन्,’ एसपी काफ्लेले भने, ‘माेटरसाइकलसँगै दुई युवा सडकमा लडेपछि सायद बाघ पनि डराएको भागेको हुनसक्छ।’

मोटरसाइकल लडेपछि भने बाघले थप आक्रमण नगरेको घाइते युवाहरुले बताएका छन्। 

मोटरसाइकल लड्दा दुबै युवा सामान्य घाइते भएका छन्। उनीहरुका अनुसार मोटरसाइकलबाट आफूहरु लडेपछि बाघ केही पर सरेको थियो। त्यहीबेला पश्चिमबाट आउँदै गरेको बसका यात्रुले होहल्ला गरेपछि बाघ जंगलतिर भागेको थियो।  

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार भएसँगै पथलैया-निजगढ सडकखण्डमा बाघ र हात्तीको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन्। 

प्रहरीले पनि पिलुवा क्षेत्रमा पछिल्लो समय बाघको चहलपहल बढेको जनाएको छ। राजमार्गमा यात्रा गर्ने यात्रुलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .