समाज


जनकपुरधामबाट अयोध्या पठाइयो भार

जनकपुरधामबाट अयोध्या पठाइयो भार

नेपालखबर
पुस २०, २०८० शुक्रबार ५:३५, जनकपुरधाम

जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ।

आगामी माघ ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम(अयोध्याधाम यात्रासहित बिहीबार बिहान यहाँबाट भार पठाइएको हो।

जानकी मन्दिर प्राङ्गणमा बिहीबार आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरेका हुन्।

जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यहाँबाट यात्रा प्रारम्भ भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ। सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो।

भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मीठाइ लगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन्।

राममन्दिरको प्राण प्रतिष्ठा (उद्घाटन) लाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सहमहन्थ दासको भनाइ छ।

जनकपुरधामबाट जलेश्वर नाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिक स्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राममन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरिने छ।

यस कार्यले नेपाल–भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं भारयात्रा मूल समारोह समितिका संरक्षक मनोजकुमार साहले बताए।

सहमहन्त दासले यस कार्यले नेपाल भारतबीच सदियौँदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनका लागि विश्वभर सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरेका थिए।

यसअघि निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो। विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको जल अयोध्या पठाइएको थियो।

अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शिलासमेत अयोध्या पठाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad