समाज


सर्लाहीका मिटरब्याज पीडित रातभर सडकमा, प्रहरी प्रशासन पीडकको पक्षमा लागेको आरोप (तस्बिर)

सर्लाहीका मिटरब्याज पीडित रातभर सडकमा, प्रहरी प्रशासन पीडकको पक्षमा लागेको आरोप (तस्बिर)

नेपालखबर
पुस १३, २०८० शुक्रबार ९:६, सर्लाही

सर्लाहीका मिटरव्याज पीडितले फेरि आन्दोलन सुरु गरेका छन्। प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्दै मिटरव्याज पीडितले बिहीबारदेखि सदरमुकाम मलंगवामा आन्दोनल सुरु गरेका हुन्। 

गएराति झण्डै दुई सय पीडितले मलंगवाकै सडकमा रात काटेका छन्। आन्दोलनमा अधिकांश महिला छन्। मध्यपुसको यो चिसोमा सडकमै टेन्ट टाँगेर बसेका उनीहरुले सडकमै खाना बनाएर खाएका छन्। शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला अदालत अगाडि फेरि प्रदर्शन सुरु गरेका छन्। 

मिटरब्याजी साहुलाई तुरुन्तै पक्राउ गरेर कारबाही नभएसम्म आन्दोलन नरोकिने मिटरव्याज पीडित आन्दोलनकी अगुवा सरस्वती मिश्रले बताइन्। 

बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाउन गएका पीडितमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो। त्यसक्रममा केही पीडित घाइते भएका छन्। बिहीबार साँझ प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको छ।

सीडीओ कार्यालयअगाडि मिटरब्याजी साहु रामस्वरूप राय पक्षले आफ्ना कपडा च्यातेर कुटपिट गर्दा पनि प्रहरी प्रशासनले न्याय नदिएको सर्लाहीको हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरका अमरुल खातुनले बताइन्।

प्रहरीहरुकै अगाडि अमरुल र मविना खातुनलाई लछारपछार गर्दै साहुहरुबाट कुटपिट हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप सरस्वती मिश्रको छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्ने पीडित पक्षको आरोप सत्य नभएको दाबी गरे। 

‘हामी पीडकको पक्षमा लाग्ने भन्ने नै हुँदैन,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भने, ‘प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा फद्मा खातुनलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि उहाँहरुले विरोध गर्नु भएको हो।’  

उनले सर्लाहीमा मिटिरव्याजसम्बन्धी धेरै ‘केस’ सल्टिएका बताए। म सर्लाही आएपछि पनि पीडक र पीडितलाई सँगै छलफलमा राखेर धेरै उजुरीलाई किनारा लगाएको छु। अदालतबाट निषेधाज्ञा लिएर बसेकालाई पनि तुरुन्त पक्राउ गर्नुपर्यो भनेर उहाँहरु हामीलाई दबाब दिनु हुन्छ। हामीले त्यसो गर्न मिल्दैन भन्दा उहाँहरु मान्नुहुन्न। यो विषयलाई उहाँहरुले अतिरञ्जित ढंगले प्रचार गरिरहनु भएको छ।’

उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेका ८/९ जना पीडक भागेर भारततिर गएकाले पीडितसँग उनीहरुलाई राखेर छलफल गर्न नसकिएको बताए।  

पीडितहरुले भने प्रहरी प्रशासन पीडकको पक्षमा लागेको आरोप लगाएका छन्। छलफलमा बस्दा पनि साहुकारहरुले उल्टै पीडितलाई धम्क्याउने, थर्काउने गर्दै आएका मिश्र बताउँछिन्। 

‘पीडितसँगको छलफलमा मिटरव्याजी साहुहरु नेता र जनप्रतिनिधिहरु लिएर आउँछन्। सीडीओ, एसपी उनीहरुकै कुरा सुन्छन्,’ उनले भनिन्, ‘साहुहरु नेता र मन्त्रीको पहुँचमा छन्। प्रशासन उनीहरुको संरक्षणमा लागेर पीडितलाई दुःख दिइरहेको छ।’ 

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी २ हजार ३१८ वटा उजुरी परेका छन्। जसमध्ये १ हजार ५५७ उजुरीमाथि छलफल भएको छ। त्यसमध्ये ६२३ वटा उजुरी फस्योट भएर मिलापत्रमा टुंगिएका छन्।

ती उजुरीमा मिटरब्याजी साहुहरुबाट ऋणीसँग ५४ करोड ८ लाख २२ हजार ७३३ रुपैयाँ माग दाबी भएकोमा २३ करोड २१ लाख १९ हजार ९७४ रुपैयाँमा सहमति भएको छ। साहुले हडपेका पीडितका २० बिघा भन्दा धेरै जग्गा ऋणीलाई फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .