समाज


अनशनरत रुबीको स्वास्थ्य अवस्था गम्भीर, हातका नसा ब्लक हुँदा खुट्टाबाट दिन थालियो स्लाइन

अनशनरत रुबीको स्वास्थ्य अवस्था गम्भीर, हातका नसा ब्लक हुँदा खुट्टाबाट दिन थालियो स्लाइन

प्रदीप आचार्य
जेठ ५, २०८३ मंगलबार १४:५४, बुटवल

निर्मला कुर्मी हत्या प्रकरणमा न्यायको माग गर्दै महिला अधिकार मञ्चकी केन्द्रीय अध्यक्ष रुबी खानले थालेको आमरण अनशन आज (मंगलबार) २२औँ दिनमा पुगेको छ। 

लामो समयदेखि जारी अनशनका कारण उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बन्दै गएको भन्दै अधिकारकर्मीहरूले तत्काल सरकारी हस्तक्षेपको माग गरेका छन्।

नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा उपचाररत खानको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। महिला अधिकार मञ्चका राष्ट्रिय प्रवक्ता मोहम्मद शेर भगवानका अनुसार चिकित्सकहरूले ‘तागतको पानी’ (आईभी फ्लुइड) को मात्रा बढाएपछि रुबी खान सामान्य बोल्न सक्ने अवस्थामा भए पनि उनीसँग धेरै बोल्ने शक्ति छैन।

‘उहाँको स्वास्थ्य अवस्था निकै संवेदनशील छ। जुनसुकै बेला थप जटिलता आउन सक्छ,’ प्रवक्ता भगवानले भने, ‘चिकित्सकहरूले शरीरका विभिन्न अंगहरूमा एकैपटक समस्या देखिन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।’

महिला मञ्च बाँके अध्यक्ष सकिना शाहले रुबीको जीवन जोखिममा परेको भन्दै सरकारको निरन्तर बेवास्ताप्रति आक्रोश व्यक्त गरेकी छन्। रुबीका हातका सबै नसाहरू लगभग ब्लक भइसकेको र चिकित्सकहरूले खुट्टाबाट स्लाइन दिन बाध्य भएको उनले बताइन्।

गम्भीर स्वास्थ्य अवस्थाबीच पनि रुबी खान आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडानमा कायम रहेको महिला अधिकार मञ्चले जनाएको छ। 

निर्मला कुर्मी हत्या प्रकरणमा न्याय सुनिश्चित गर्न दबाबस्वरूप सुरु गरिएको यो आन्दोलनको नेतृत्व महिला अधिकार मञ्च बाँकेले गरिरहेको छ। लामो समयसम्म अनशन जारी रहँदा रुबी खानको ज्यान जोखिममा पर्न सक्ने भन्दै मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजले सरकारलाई तत्काल समाधान खोज्न आग्रह गरेका छन्।

यता खानको अवस्था बुझ्न र उनीसँग छलफल गर्न आज (मंगलबार) प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको कार्यालयबाट तीन जना प्रतिनिधिहरू अनसनस्थल आउँदै गरेको भन्ने जानकारी पाएको प्रवक्ता भगवानले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad