समाज


डीडीसीले लुम्बिनी सरकारसँग माग्यो सहयोग, दैनिक २५ हजार लिटर दूध व्यवस्थापनको योजना

डीडीसीले लुम्बिनी सरकारसँग माग्यो सहयोग, दैनिक २५ हजार लिटर दूध व्यवस्थापनको योजना

प्रदीप आचार्य
जेठ ४, २०८३ सोमबार १४:२२, बुटवल

दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतको लुम्बिनी दुग्ध वितरण आयोजना, बुटवलले क्षमता विस्तारका लागि लुम्बिनी प्रदेश सरकारसँग सहयोग माग गरेको छ। पुराना मेसिनरी, सीमित प्रशोधन क्षमता र उत्पादन विविधीकरणमा देखिएका चुनौती समाधान गर्न आयोजना विस्तारको प्रस्ताव प्रदेश सरकारसमक्ष पेस गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले डीडीसीको उत्पादन ‘चिज’सँगको तस्बिर सार्वजनिक गरेपछि डीडीसी थप सक्रिय बनेको छ। 

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना प्रमुख कृष्णप्रसाद अर्यालसहित डीडीसीका प्रतिनिधिले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष क्षमता विस्तारसम्बन्धी प्रस्ताव प्रस्तुत गरे।

डीडीसीले दूध संकलन, प्रशोधन, युटिलिटी, ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिक २५ हजार लिटर दूध व्यवस्थापन गर्ने लक्ष्यसहित प्रदेश सरकारको सहयोग मागेको जनाएको छ। हाल आयोजनाले फ्लस सिजनमा दैनिक १५ हजारदेखि २० हजार लिटर तथा लीन सिजनमा ७ हजारदेखि १० हजार लिटर दूध संकलन गर्दै आएको छ।

यी हुन् डीडीसीका प्रमुख माग

आयोजनाले उत्पादन वृद्धि र विविधीकरणका लागि नयाँ उपकरण तथा पूर्वाधार विस्तार आवश्यक रहेको जनाएको छ। प्रस्तावअनुसार खुवा बनाउने मेसिन, ब्वाइलर, होमोजनाइजर, अटोमेटिक बटर प्याकेजिङ मेसिन, दही फिलिङ मेसिन, आइसक्रिम तथा कुल्फी प्लान्ट, डेलिभरी भ्यान र २० टन क्षमताको बटर कोल्ड स्टोर स्थापनाका लागि सहयोग मागिएको छ।

डीडीसीका अनुसार प्रस्ताव कार्यान्वयन भएपछि दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटरबाट ५ हजार लिटर पुग्नेछ। यससँगै लाभान्वित कृषक परिवार ६ हजारबाट ८ हजार पुग्ने र दैनिक दूध खपत ५ हजार लिटरबाट ८ हजार लिटर पुग्ने अपेक्षा गरिएको छ।

२०४६ सालमा स्थापना भएको लुम्बिनी दुग्ध वितरण आयोजना, बुटवलले हाल रुपन्देही, नवलपरासी, नवलपुर, कपिलवस्तु र गुल्मीबाट दूध संकलन गर्दै आएको छ। बुटवल, भैरहवा, पाल्पा, नवलपरासी, नारायणघाट र पोखरामा दूध तथा दुग्ध पदार्थको बजारीकरण गर्दै आएको छ। देशभर डीडीसीले करिब ८ सय दुग्ध उत्पादक सहकारीमार्फत दैनिक १ लाख ५० हजार लिटर दूध खरिद गर्दै आएको छ, जसबाट करिब १ लाख कृषक परिवार लाभान्वित भएका छन्।

छलफलमा मुख्यमन्त्री आचार्यले किसानबाट दूध सहजरूपमा खरिद गर्नुपर्ने र समयमै भुक्तानी सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले दूधजन्य उत्पादनमा विविधीकरण गरी उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ सहजरूपमा उपलब्ध गराउनुपर्ने तथा डीडीसीका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad