गुमान घर्ती मगर ‘ईएफएस फाइट-८’ च्याम्पियन बनेका छन्।
सुपर फेदर वेटमा मुवा थाई फाइट जिमका कर्णबहादुर मगरातीलाई पराजित गर्दै गुमान च्याम्पियन बनेका हुन्। मुवा थाई राष्ट्रिय च्याम्पियन बनेका गुमानले बेल्टसहित एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, दुई पटककी च्याम्पियन करिश्मा कार्कीले लाइट फ्लाइट वेटमा भारतीय खेलाडी पुष्पा आरलाई युनानिमस निर्णयमा हराइन्। यसअघि दुई पटक उपाधि जित्दा उनले नेपाली खेलाडीलाई हराएकी थिईन्। यस पटक भने हराउँदा विदेशी खेलाडीलाई हराउँदै उनले उपाधिसहित ५० हजार रुपैयाँ हात पारिन्।
५५ केजीको सेमिफाइनलमा दावा तामाङले मुभिन राईलाई युनानिमस निर्णयमा र एलिस बमजोनले सन्जु सुम्बा तामाङलाई स्पलिट निर्णयमा हराए। फाइनलमा पुगेका दावा र एलिसले आगामी वर्षको प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी प्रो–एमेच्योरतर्फ ५८ केजीमा आभाष श्रेष्ठ, ५५.३ केजीमा भारतीय खेलाडी नायाश गंगावार, ५३.२ केजीमा जेसिका लामा, ६८ केजीमा भारतका पूर्णशा दे, ६९.८ केजीमा जनक गुरुङ, ६० केजीमा विन्दुवाली राई तथा सुजल बुढाथोकी र सुमन राना मगरले आफ्नो फाइट जिते।
त्यस्तै, इभान श्रेष्ठ जुनियरतर्फ पहिलो भए। डब्लूबीसी मुवा थाई नेपालले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका खेलाडीको सहभागिता रहेको थियो।
Shares

प्रतिक्रिया