समाज


करोडको सम्पत्ति क्षणभरमै खरानी, व्यवसायी दम्पती भन्छन्- सबै गुमे पनि फेरि सुरु गर्छौं

करोडको सम्पत्ति क्षणभरमै खरानी, व्यवसायी दम्पती भन्छन्- सबै गुमे पनि फेरि सुरु गर्छौं

प्रदीप आचार्य
फागुन ३०, २०८२ शनिबार १७:४६, बुटवल

साँझपख एकाएक बुटवल-४ संगमपथको व्यस्त बजारमा रहेको न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्स धुवाँले ढाकियो। केही मिनेटमै गोदामतर्फबाट सल्किएको आगोले जुत्ता-चप्पलको थोक पसललाई समातेपछि स्थानीय व्यापारी र बासिन्दा त्रसित भए। 

फागुन २९ गते साँझ करिब साढे ७ बजेतिर सुरु भएको आगोले पसलभित्र राखिएका जुत्ता-चप्पल, गोदामका सामग्री र व्यवसायी राजु श्रेष्ठको वर्षौँ मेहनतलाई क्षणभरमै खरानी बनायो। पसलमा लागेको आगो नियन्त्रणमा लिन हम्मेहम्मे भयो। 

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका दमकलको सहयोगमा नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए। केही समयपछि आगो निभाए पनि पसल र गोदाममा ठूलो क्षति पुगेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। ‘अहिलेसम्म अनुमान मात्रै हो,’ श्रीवास्तवले भने, ‘डकुमेन्ट आएपछि मात्र वास्तविक क्षति थाहा हुन्छ। मुचुल्कामा प्रहरीले पनि रकम उल्लेख गरेको छैन।’

प्रारम्भिक जानकारी अनुसार पसलको पछाडितर्फ रहेको गोदामबाट आगो सल्किएको देखिएको छ। ‘आगो गोदामसम्म पुगेछ। अगाडिको भाग धेरै नजले पनि धुवाँ र पानीले सामान बिग्रेर काम नलाग्ने भएका छन्,’ व्यवसायी राजु श्रेष्ठकी पत्नी जमुना शर्मा भन्छिन्, ‘अहिलेलाई करिब एक करोड जति क्षति भएको अनुमान छ।’

आगो निभाउन प्रयोग गरिएको पानीले पनि धेरै जुत्ता-चप्पल बिग्रिएको शर्माले बताइन्। पसलका धेरै सामान प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

बीमा कम, क्षति ठूलो

आगलागीले व्यवसायमा ठूलो धक्का पुग्नुको कारण पर्याप्त बिमा नहुनु पनि हो। व्यवसायी श्रेष्ठले पनि पर्याप्त बिमा गरेको थिएनन् ‘बिमा ५० लाखको मात्रै थियो। संरचनाको बिमा गरिएको थिएन,’ सञ्चालक श्रेष्ठले भने। 

एक करोडभन्दा बढीको क्षति हुँदा बिमा ५० लाख रुपैयाँको मात्रै गरिएको छ। जसले गर्दा क्षति भएको सम्पत्ति बिमाबाट आपूर्ति नहुने देखिएको छ। 

दोहोरिएको पीडा

न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आगलागी भएको यो पहिलो घटना होइन। केही वर्षअघि पनि उनको पसलमा आगो लागेको थियो। त्यतिबेला छेउको पसलबाट सर्ट सर्किट भएर आगो सल्किएको थियो। 

‘लकडाउनभन्दा केही अगाडि पनि आगलागी भएको थियो। त्यतिबेला अर्को पसलबाट सर्ट भएर सल्किएको थियो। बीचमा प्लाइवुडको पार्टिसन मात्रै थियो,’ शर्मा भन्छिन्। 

त्यसपछि सुरक्षाका लागि पर्खाल बनाइएको छ। अहिलेको आगो भने गोदामबाट सुरु भएको देखिएको छ।

व्यवसायी राजु श्रेष्ठ र जमुना शर्मा।

खरानीबाट उठ्ने आश

व्यवसायी श्रेष्ठ केही समयअघि बैदेशिक रोजगारीमा गएका थिए। पछिल्लो समय भारतमा रहेका उनी त्यसअघि मौरिससमा होटल व्यवसाय सुरु गर्ने प्रयासमा थिए। ‘म पोहोर साल मौरिससमा होटल खोल्न गएको थिएँ। अहिले एक वर्षपछि फर्किएको हुँ,’ श्रेष्ठले भने। 

स्वदेश फर्केर व्यवसायलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका बेला आगलागीले नोक्सान पुर्‍याएको छ। आगलागीले पसलका सामान मात्र होइन, वर्षौँको मेहनत पनि खरानी भएको छ। तैपनि उनले हार मानेका छैनन्। ४१ वर्षीय व्यवसायी श्रेष्ठ भन्छन्, ‘सबै गुमे पनि फेरि सुरु गर्न सकिन्छ, गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad