रुपन्देहीमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्।
बुटवल उपमहानगरपालिका-११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जनाकारी दिए।
‘घटना आज (बुधबार) बिहान चार बजेतिरको हो,’ एसपी क्षेत्रीले नेपालखबरसँग भने, ‘पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको अवस्थामा शव फेला परेको छ। कोइरालालाई हामीले पक्राउ गरेका छौँ।’
मारिने दुई बालिका भने आरोपी कोइराला पट्टीका छोरी नभएका उनले बताए।
एसपी श्रेत्रीका अनुसार दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन्। उनी दुई छोरीलाई साथमै लिएर गएराति पूर्व पतिलाई भेट्न गएको बेला घटना भएको हो।
‘कोइराला घरमा एक्लै बस्दा रहेछन्,’ एसपी क्षेत्रीले भने, ‘राति सँगै बसेपछि उनले बिहानपख पूर्वपत्नी र छोरीहरुको बिभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’
उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको क्षेत्रीले बताए। दीपा स्वास्थ्यकर्मीका रुपमा कार्यरत थिइन्।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर १० वर्ष जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका व्यक्ति हुन्।
‘हत्या कसुरमा श्रीमान जेल परेपछि ती महिलाले दोस्रो बिहे गरेकी स्थानीयले बताएका छन्। मारिने दुई छोरी अहिलेका श्रीमान पट्टीका हुन्।’
Shares

प्रतिक्रिया