सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित बीपी चोकमा एक व्यक्तिले सासुको हत्या गरेका छन्।
भोजपुरको दिङ्ला नगरपालिका वडा नम्बर ८ स्थायी घर भई हाल इटहरीमा डेरा गरी बस्ने ५६ वर्षीया पबी माया बयलकोटीको उनकै ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले हत्या गरेका हुन्।
गम्भीर घाइते भएकी बयलकोटीलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङको बाहुनी घर भएका गुप्ता पेशाले म्याजिक चालक हुन्। सासुलाई आक्रमण गरेलगत्तै उनी आफूले चलाउने म्याजिक लिएर घटनास्थलबाट फरार भएका थिए।
घटनाको जानकारी पाएलगत्तै खोजी कार्यमा जुटेको प्रहरी टोलीले उनलाई रातको करिब १२ बजे नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।
हत्याको स्पष्ट कारण अझै खुल्न सकेको छैन। मृतक र आरोपित ज्वाइँ छुट्टाछुट्टै स्थानमा डेरा गरी बस्दै आएका थिए।
घटनाको समयमा उनीहरूबीच के कति कारणले झगडा भयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। हाल आरोपित गुप्ता प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया