समाज


जब परिवारका ३ जनाले एकैपटक अधिकृतमा नाम निकाले

जब परिवारका ३ जनाले एकैपटक अधिकृतमा नाम निकाले

सुमन सुस्केरा
मंसिर २४, २०८२ बुधबार ८:५८, विराटनगर

दक्षिणतर्फ भोजपुर, पूर्वतर्फ सङ्खुवासभा। यी दुई जिल्लाको सीमाना जोडिएको पालिका हो, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका। 

सोलुखुम्बुको महाकुलुङ–३, छेस्काम गाउँ पछिल्लो केही दिनदेखि निक्कै चर्चामा छ। बिहान सबेरै मेलापात गर्न जाने बुबा आमादेखि घरअगाडिको धूलो उडाउँदै विद्यालयतर्फ हाँसेर निस्कने साना बालबालिका पनि यो चर्चामा सहभागी छन्।  

महाकुलुङको कठोर भौगोलिक उकाली ओरालीमा जीवन काटेका दुर्गाबहादुर कुलुङ आजकल अलिक फुरुङ्ग देखिन्छन्। यसको कारण हो, उनैका धेरै सङ्घर्षले निखारिएका सन्तानहरू अहिले एउटै चिनारी बोकेर गाउँमा चर्चा  बटुलिरहेका छन्।

दुर्गाबहादुरको जीवन काम बाहेक एक क्षण खाली रहेन। कहिले गाईबस्तु चराउँदै डाँडाकाँडा उक्लिन्थे, कहिले ट्रेकिङमा पर्यटकको भारी थेगेर हिमालसम्म पुर्‍याउँथे।  कतिखेर डकर्मी हुन पुग्थे कहिले सिकर्मी। उनको दैनिकी सधैँ सङ्घर्ष र परिश्रममै बित्यो। 

भइपरी आउने जस्तोसुकै काम उनी बिना कुनै सङ्कोच सम्हाल्थे। घर चलाउन, छोराछोरी पढाउन दुर्गा बहादुरलाई उनकी श्रीमती मनीकुमारी कुलुङले सघाउँथिन्। उनले घर धान्थिन्, घर चलाउन सजिलो गराउँथिन्। 

जीवन सङ्घर्षकैबीचमा दुर्गाबहादुरलाई एकाएक ०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्य  बन्ने प्रस्ताव आयो। उनले स्वीकार गरे र वडा सदस्यमा निर्वाचित पनि भए। 

उनै दुर्गाबहादुर २०७९ को निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भए र चुनाव पनि जिते। तर, उनलाई यतिबेला वडाध्यक्षको कुर्सीभन्दा ठूलो गर्व सन्तान सुखले दिएको छ। 

दुर्गाबहादुर र मनीकुमारीका छोराहरू एकराज र बालकुमारले गाउँको छेस्काम माविबाट एसएलसी गरेपछि उच्च शिक्षाका लागि गाउँ छाडे। जेठा छोराले २०६८ साल र भाइले २०७२ सालमा गाउँ छाडे। 

एसएलसी उत्तीर्ण गरेको केही दिनमै दुर्गाबहादुरले दुवै छोरालाई काठमाडौँ पठाए। नयाँ सहर, नयाँ परिवेश र अनगिन्ती चुनौतीबीच उनीहरूले बीबीएससम्मको उच्च शिक्षा ब्रिलियन्ट क्याम्पस चाबहिलबाट पूरा गरे। 

कुनै पनि ट्युसन सेन्टरको भर नपरी, उनीहरू पुस्तकालय, साथीभाइको समूह र घरभित्रै अध्ययन गरेरै रमाउँथे।

पढाइमा लय समाउँदै अघि बढेका दुर्गाबहादुरका जेठा छोरा एकराजले २०७५ मा रामेछाप जिल्ला अदालतमा डिट्ठा पदमा नाम निकाले। २०७९ वैशाख ५ मा उनले लेखातर्फ नासु पदमा नाम निकालेका थिए। 

२०७९ सालमा डिट्ठा पदमा काठमाडौँ जिल्ला अदालतमा नाम निकालेका कान्छा छोरा बालकुमारले पनि दाइलाई २०८० चैतमा महालेखा परीक्षकको कार्यालयमा सोही पदमा भेट्टाए।  

संयोग मात्र होइन, दैवले लेखिदिएको कथा जस्तै दुवै दाजुभाइ महालेखा परीक्षकको कार्यालयमा नै कार्यरत रहँदै आए।  दुर्गाबहादुर भन्छन्, ‘दुवै छोराहरू आफ्नो मेहनतमा विश्वास गर्ने भएर पनि होला, सानै देखि यिनीहरूले ठूलो सफलता हासिल गर्छन् भन्ने मलाई त्यही बेलादेखि नै लाग्थ्यो।’ 

उनीहरू सरकारी जागिरे भइसकेपछि घरमा २०८१ असोजमा जेठी बुहारी पनि भित्रिइन् मनिषा कुलुङ राई। उनी पनि अध्ययन, इमान्दारीता र तत्परतामा कम थिइनन्। मनिषाले २०७९ मङ्सिरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पहिलो पोस्टिङ पाइन्। 

त्यसपछि उनी काजमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगिन्। लगतै उनी ललितपुरको राष्ट्रिय किताब खानामा नासु पदमा सेवा गर्दै आएकी थिइन्। 

अर्को पाटोमा दुर्गाबहादुरकी छोरीले पनि प्रदेश लोकसेवा मार्फत नायव सुब्बा सोसरह (आलेप सहायक पाँचौँ) पास गरी सोताङ गाउँपालिकामा सेवा दिई रहेकी छिन्। उनी यसअघि सुनसरीको हरिनगर गाउँपालिकाबाट सरुवा भएर सोताङमा पुगेकी हुन्। एउटै घरका सन्तान यसरी सरकारी सेवामा पुग्दा गाउँलेहरू गर्वले अहिले उनीहरुकै नाम लिन थालेका छन्।

खुसीको अर्को क्षण
दुर्गाबहादुरका लागि एकै दिन सबैभन्दा ठूलो क्षण तब आयो, जब दुई छोरा र बुहारी तीनै जनाले अधिकृतमा नाम निकालेको खबर गाउँमा पुग्यो । 

सङ्घीय लोकसेवा आयोगले लिएको २०८२ साउन १९ देखि २१ गतेसम्म चलेको अधिकृत पदको परीक्षामा एकराज, मनीषा र बालकुमार तीनै जनाले एउटै पद (शाखा अधिकृत)मा परीक्षा दिएका थिए।  

त्यसको परिणाम २०८२ मङ्सिर २० गतेको आयो। परिणाम एउटै थियो, तीनै जनाले अधिकृतमा नाम निकाले। यो कुरा गाउँभरि फैलियो। क्षणभरमै दुई दशकको सङ्घर्ष दुर्गाबहादुरले सम्झिए। 

गाईबस्तु चराउँदै छोराहरूलाई विद्यालय पुर्‍याएको बिहान, काठमाडौँ पठाएपछि खुरुखुरु पढ् है बाबु भनेर सहर पठाएका छोराहरूले अधिकृतमा नाम निकालेको विषयले उनी निक्कै भावुक भए। ‘सन्तानले ठूला सपनाहरू पूरा गर्दा जीवनभरको दुःख बिर्सिने रहेछ, उनले भने, ‘यस्तो दिन गाउँमै पहिलो पटक आएको छ।’ 

भोजपुर र सङ्खुवासभाको सिमानामा रहेको छेस्कामबाट केही वर्ष पहिलासम्म सरकारी सेवामा सहभागिता शून्य जस्तै थियो। पछिल्लो समय यहाँबाट करिब २ दर्जन युवाले सरकारी सेवामा प्रवेश गरेका छन्।  

लोक सेवा तथा शिक्षक सेवा आयोगका परीक्षामा महाकुलुङ जिल्लाकै सबैभन्दा बढी उत्तीर्ण हुने पालिकामा दर्ज हुन थालेको छ।

उनीहरूलाई कुनै ट्युसन सेन्टरले होइन, परिवारको एकताले यो सफलता दिलाएको हो।  अधिकृतमा नाम निकालेका तिनै जना एकै ठाउँमा बसेर पढ्थे। 

एकराजका अनुसार, घरको एकै कोठामा बसेर गरेका छलफलहरू, रातको ढिकाजस्तो उधिन्न नसक्ने नियमितता र ‘सफलताको स्वाद एकै पटक चाख्ने’ साझा आकाङ्क्षाले नै  सफलता सम्भव बनाएको उनको बुझाइ छ। 

आफ्ना सन्तालनले सँगै कोठामा बसेर छलफलको माध्यमबाट पढ्ने गरेको उनले नेपालखबरलाई बताए। उनीहरू घरमा बसेर पढ्थे अनि हरेक हप्ता विभिन्न निजी इन्स्टिच्युटमा परीक्षा दिन जान्थे। झन्डै ३५ पटक नै परीक्षा दिन गएको एकराजले बताए।  

छेस्काममा एक समय सरकारी सेवामा नाम निकाल्ने दर अत्यन्तै कम थियो। अहिले त्यही ठाउँबाट दर्जनौँ युवाले लोकसेवा पास गरिरहेका छन्। 

त्यो परिवर्तित वातावरणको अगुवाइ गर्ने परिवारमध्ये अब कुलुङ परिवार सबैभन्दा अगाडि उभिएको छ। यो गाउँमा अधिकृत अहिलेसम्म कोही पनि थिएनन्। 

अहिले एकै परिवारका ३ जनाले अधिकृतमा नाम निकालेर उदाहरणीय बनेका छन्। देश बाहिरका तलबको लोभ र सुनौलो भविष्यका विज्ञापनले आकर्षित गरिरहेका हजारौँ युवालाई यो परिवारले नयाँ ऊर्जा दिएको छ। मेहनत गर्न सकियो भनेँ देश भित्रै केही गर्न सकिन्छ भन्ने उदाहरण कुलुङ परिवार बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad