समाज


मोरङमा जंगली हात्तीको आक्रमण, १ वर्षमा ५ जनाको मृत्यु

मोरङमा जंगली हात्तीको आक्रमण, १ वर्षमा ५ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार ५:२२, मोरङ

मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट गएको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्। 

बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरिन्। 

आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ। सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एकरएक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए।

 प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका–९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो। 

वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ।

गत पुस ५ गते सुन्दरहरैचा–१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा–५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले  बताए।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ। उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ। तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए।

दुई वर्षदेखि मोरङको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए। ‘हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्’, उनले भने। 

जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad