समाज


छोरीहरू घरमै असुरक्षित

छोरीहरू घरमै असुरक्षित

नेपालखबर
साउन ४, २०८२ आइतबार ५:५०, गोरखा

गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो। गोरखा नगरपालिका–११ को एक विद्यालयमा पढाउने शिक्षिकाले प्रहरीलाई ११ वर्षीया बालिकालाई निजका बुबाले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिइन्। 

प्रहरीले तत्कालै बालिकाको घर पुगेर निजका बुबालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थाल्यो । हाल निजका बुबाविरुद्ध बाल यौन दुर्व्यवहार शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । ‘आमा शारीरिक रूपमा अशक्त भएपछि बुबाले रक्सी सेवन गरी छोरीमाथि यौन शोषण गर्ने गरेका अनुसन्धानका क्रममा पाएका छौँ’, उनले भने।

उक्त घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता भएको थियो । गोरखा–५ की १७ वर्षीया किशोरी शारीरिक रूपमा अशक्त भएकै कारण बुबाबाट यौन शोषणमा परेकी छिन् । पारिवारिक झगडाका कारण आमाले छोडेपछि रेखदेख गर्ने नाममा बुबाबाट यौन शोषण भोग्नु परेको उनी बताउँछिन्। 

‘रक्सी खाएर बुबाले वर्षौँदेखि उनीमाथि डर त्रास, धाक धम्की देखाएर यौन शोषण गर्दै आएका रहेछन्’, प्रहरी उपरीक्षक विकले भने, ‘सहनै नसक्ने भएपछि छरछिमेकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि आरोपीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेका छौँ।’

गोरखा–८ की १५ वर्षीया किशोरीको कहानी पनि परक छैन। उनले बुबाबाट यौन शोषणमा पर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि निजका बुबालाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विकले जानकारी दिए। 

आमा विदेशमा रहेकाले बुबाले रक्सी खाएर छोरीमाथि यौन दुर्व्यवहार गर्ने गरेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटना गाउँ बस्तीमा छन्।

‘घटनाको प्रकृति र परिवेश अध्ययन गर्दा विशेष गरी आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका समुदायमा यस्तो घटना बढी घटिरहेका छन्’, प्रहरी उपरीक्षक विकले भने, ‘शिक्षा, चेतनाको अभाव, मादक पदार्थ सेवन, पारिवारिक झगडालगायत कारणले यस्ता घटना बढी हुने गरेका पाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad