समाज


कोसीका कृषिमन्त्री र पाथिभरा विकास समितिका अध्यक्षबीच कुटाकुट

रक्सीले मातेका मन्त्रीले नमस्कार गर्दा नै आक्रमण गर्नुभयो: अध्यक्ष रक्की थेवे
कोसीका कृषिमन्त्री र पाथिभरा विकास समितिका अध्यक्षबीच कुटाकुट

पाथीभरा विकास समितिका अध्यक्ष रक्की थेवे र कोसी सरकारका कृषि मन्त्री खगेनसिं हाङ्गाम


सुमन सुस्केरा
असार ५, २०८२ बिहिबार १३:११, विराटनगर

कोसी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि हातपात गरेको घटना बाहिरिएको छ। 

ताप्लेजुङकाे फुङलिङ नगरपालिका–४ को एक क्याफे नजिकै सामान्य विषयमा मन्त्रीले अध्यक्ष थेवेमाथि सुरुमा आक्रमण गरेका थिए। 

गएको मंगलबार साँझ मन्त्रीसँग भएको भेटका क्रममा घटना भएको अध्यक्ष थेवेले बताए। थेवेका अनुसार साँझतिर मन्त्री हाङगामलाई भेट्न गएको बेला यो घटना भएको हो। 

‘मन्त्रीले मदिरा सेवन गर्नु भएकाे रहेछ,’ उनले भने, ‘पहिलो चोटि नमस्कार गर्न खोज्दा नै ममाथि आक्रमण गर्नुभयो। त्यसबाट जोगिन म साइड लागेँ। फेरि दोस्रो पटक पनि प्रहार गर्नुभयो। त्यसपछि पनि झम्टिन खोज्दा भने मैले पनि प्रतिकार गरेँ। त्यसपछि हामीबीच हानाहान भएको हो।’

थेवेका अनुसार, घटना यत्तिमा मात्रै रोकिएन। मन्त्रीले लगातार आक्रोशपूर्ण व्यवहार देखाउँदै आक्रमण गर्न खोजिरहे। 

अध्यक्ष थेवेले कसैले आफूविरुद्ध गतल सूचना दिएको कारण मन्त्रीले आफूलाई आक्रमण गरेको हुनसक्ने दाबी गरेका छन्। ‘म उहाँलाई धन्यवाद दिन गएको थिएँ, राम्रो कामको प्रशंसा गर्न गएकाे थिएँ। तर बाटोमै यस्तो व्यवहार भयो,’ उनले भने, ‘मन्त्रीज्यूले मदिरा सेवन गर्नुभएको थियाे, उहाँले चुनावको विषयलाई लिएर ममाथि आक्रमण गर्नुभयो। आक्रमण नरोकिएपछि मैले पनि प्रतिकार गरेँ।’

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले मन्त्री हाङगाम र अध्यक्ष थेवेबीच भएको भनिएको कुटपिटको घटनाको सम्बन्धमा अहिलेसम्म औपचारिक जानकारी प्रहरीमा नआएको बताए। 

‘उहाँहरूबीच विवाद भएको भन्ने कुरा अनौपचारिक रुपमा जानकारीमा आएको छ,’ उनले भने, ‘तर आधिकारिक जानकारी हामीकहाँ आएको छैन।’

मन्त्री हाङगाम र अध्यक्ष थेवेबीच हानाहान भएको विषयमा बुधबार दुवै पक्षलाई मिलाउने प्रयास भएको थियो। तर, यो विषय अझै मिलिसकेको छैन। 

हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। पार्टी सभापति शेरबहादुर देउवानिकट भएका कारण उनले प्रदेशमा मन्त्री बन्ने मौका पाएको चर्चा छ।

मन्त्री हाङगाम यसअघि पनि बारम्बार विवादमा तानिँदै आएका कांग्रेस नेता हुन्। मंगलबारको घटनाको विषयमा मन्त्री हाङगामले कुनै प्रतिक्रिया दिन चाहेनन्। नेपालखबरले पटकपटक सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आउन नचाहेका हुन्।

घटनाको अघिल्लो दिन मन्त्री हाङगामले ताप्लेजुङकै हाङपाङमा ट्रकका सहचालक नवराज भण्डारीमाथि समेत कुटपिट गरेको विवरण बाहिर आएको छ। यसले मन्त्रीको आचरणमाथि थप प्रश्न उठाएको छ।

२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा पनि हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad