कर्णाली नदीमा गाडीसहित बेपत्ता भएका चालकको शव नौ दिनपछि भेटिएको छ।
शनिबार बिहान चालक तलाराम सुवेदीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ। अछामको तुर्माखाँद गाउँपालिका-२ जमगडास्थित कर्णाली नदीको किनारमा चालक तुलारामको शव फेला परेको हो।
उनका बुवाले शव सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकले जानकारी दिए। सुर्खेतको पञ्चपुरी नगरपालिका-८ माझिगाउँका तुलाराम गाडी मालिक पनि हुन्।
सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी असार १८ गते बिहान साढे ११ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
त्यही दिन भीरमा अड्किएको अवस्थामा कालीकोटको पचालझना गाउँपालिका-९ का जेखे तिरुवाको उद्धार गरिएको थियो। उपचारका लागि अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, गाडीसहित बेपत्ता भएका यात्रुमध्ये कालीकोटको पचालझरना गाउँपालिका-९ कै मेघे तिरुवाको शव सोमबार कैलालीको मोहान्याल गाउँपालिका-६, सुङ्गरखाल सोल्टा नजिक भेटिएको थियो।
यसअघि असार २३ गते अपराह्न ४ बजे सुर्खेतको चौकुने गाउँपालिका-४, डङ्डगेस्थित कर्णाली नदीको छालमा कालीकोट रास्कोट नगरपालिका-२ का १८ वर्षीय सिर्जना खड्काको शव फेला परेको थियो।
गाडीमा सह-चालक रामप्रसाद स्वेदी अझै बेपत्ता छन्।
Shares

प्रतिक्रिया