समाज


१६ वर्षीया किशोरीको शव जंगलमा भेटियो

बलात्कारपछि हत्या भएको आशंका, प्रेमीसहित ४ किशोर पक्राउ
१६ वर्षीया किशोरीको शव जंगलमा भेटियो

एनिशा बिक


दिनेश बुढा
फागुन २७, २०८२ बुधबार ८:५१, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा गएको शनिबार एक किशोरीको शव भेटियो। शव भेटिएको खबरपश्चाप प्रहरी टोली घटना स्थल पुग्यो। 

प्रहरी अनुसन्धानपछि उक्त शव वीरेन्द्रनगर–१ की १६ वर्षीय एनिशा विकको भएको पत्ता लाग्यो।

११ कक्षामा अध्ययनरत एनिशा स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर शनिबार बिहान ६ बजेतिर घरबाट निस्किएकी थिइन्। उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ की विद्यार्थी हुन्। 

परीक्षा दिन भनेर बिहान खाजासमेत नखाइ घरबाट निस्किएकी एनिशा खाना खान घर आउने प्रतीक्षामा आमा थिइन्। तर, घरबाट निस्किएको तीन घण्टापछि छाेरीको शव भेटियो खबर आमाले सुनिन्।

एनिशा घरबाट निस्किदा आमालाई ‘स्कुलमा प्रयोगात्मक परीक्षा छ छिट्टै फर्किन्छु’ भनकी थिइन्।

‘ममि आज मेरो प्राक्टिकल छ। म चिया खाएर जान्छु,’ छोरीले घर छाड्नुअघि भएको कुराकानी सम्झिँदै उनकी आमा तिला विकले नेपालखबरसँग भनिन्, ‘तीन घण्टाको समय हो। म छिट्टै फर्किहाल्छु खाना पकाएर राख्नु भनेकी थिइन्। म कुरेर बसेँ। छोरी फर्केर आइनन्।’

उनले छोरी आउन ढिलो भएपछि फोन गरेर विद्यालयमा सोधेकी थिइन्। तर, शनिबार विद्यालय नखुल्ने र एनिशा पनि विद्यालय उपस्थिति नभएको जानकारी पाइन्। त्यसपछि आफन्तले उनको खोजी थाले। 

खोजीको क्रममा केही बेरमै घर नजिकैको जनजागरण सामुदायिक वनमा एनिशा भेटिएको खबर आमालाई पुग्यो। आमा तिला हतारहतार वनमा पुगिन्। 

त्यहाँ एनिशा अचेत अवस्थामा थिएन्। घटनास्थलमा पुगेकी आमा तिलाले छोरीको कम्मरभन्दा तलको भागबाट रगत बगिरहेको देखिन्।  ‘कपाल भुत्लाइएको थियो। जिउभरी रगतै–रगत थियो’, उनले भनिन्, ‘मेरो छोरीको शरीर हेर्न सक्ने अवस्थामा थिएन।’

त्यहाँबाट एनिशालाई उठाएर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे।  

अनुसन्धानको क्रममा एनिशा आफ्ना प्रेमीलाई भेट्नको लागि शनिबार स्कुल जान भनेर ढाँटेर घरबाट निस्केको देखिएको प्रहरीले जनाएको छ।

कक्षा ११ मा पढ्दै गरेकी एनिशाको हत्याले आमाबुवासहित आफन्त र छिमेकी स्तब्ध छन्।

आफन्तले एनिशालाई जवरजस्ती करणी गरेर हत्या गरिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेका छन्। निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरूको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एनिशाको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

एनिशाको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा प्रहरीले वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरसहित चार जनालाई  नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने एक किशोर र एनिशा एउटै विद्यालयमा अध्ययनरत रहेको खुलेको छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले एनिशा र पक्राउ परेका ती किशोरबीच ह्वाटएसएप लागयतका सामाजिक सञ्जालमा कुराकानी हुने गरेको  पत्ता लागेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनहरू प्रेम सम्बन्धमा थिए।

तर एनिशाको हत्या उनीहरूले किन गरे खुलिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी महोनजंग बुढथापाले प्रहरीले घटनामा शंकास्पद भूमिकामा देखिएका अन्य तीनजना किशोरलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए।

‘दुई–तीन जना प्रहरीको नियन्त्रणमा छन्। हामीले उनीहरूसँग सोधपुछ गरिरहेका छौँ’, डीएसपी बुढथापाले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिहरू थपघट पनि हुन सक्छन्।’

डीएसपी बुढथापाका अनुसार आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा एनिशाको शवको पोष्टमार्टम भइसकेको छ। तर, रिर्पोट अझै नआएको उनले बताए। ‘हामीले अनुसन्धान गरिरहेका छौँ। पोष्ट र्माटम रिर्पोट आएपछि थप कुरा खुल्छ,’ उनले भने। 

पक्राउ परेका सबै किशोर १८ वर्षमुनीका भएका प्रहरीले जनाएको छ। 

मृतक किशोरीको शव आफन्तले हालसम्म बुझेका छैनन्। शव प्रदेश अस्पताल कालागाउँ सुर्खेतको शव ग्रहमा राखिएको छ। 

प्रहरीले घटनाको दिन २३ गते नै उनका प्रेमी भनिने एक किशोरलाई पक्राउ गरेको थियाे। थप तीन किशोर २४ गते पक्राउ परेका हुन्।

मृतकका आफन्तले उनीहरुविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी सम्बन्धी जाहेरी दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad