जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।
लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका ११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालले सुनारको मृत्यु भएको पुष्टी गरेकाे हाे।
सुनार आज बिहान ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए। ‘उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए’, उनले भने, ‘हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।’
प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सीसीटीभी फुटेज’ हेरिएको छ। ‘फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएकाे देखिएकाे छ। उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ’, उनले भने।
सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए। चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी थियो। रासस
Shares

प्रतिक्रिया