नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेर आगामी रणनीति र आफूले गर्ने कामकारबाहीबारे जानकारी गराएका छन्। शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्य उपस्थित भेलामा उनले महाधिवेशन गरेर मात्रै चुनावमा जानुपर्ने बताए।
'नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु। अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,' उनले भने, 'आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ।'
उनले २०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने पनि बताए।
'विगतमा पार्टीले थुप्रै आरोह-अवरोह व्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न,' उनले भने, 'म पार्टीमा एकता, मेलमिलाप चाहन्छु। गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु। कोही कसैप्रति आग्रह-पूर्वाग्रह नराखी हामीअघि बढ्नै पर्छ।'
कोइरालाले नियमित समयमा महाधिवेशन नभए स्वत: विशेष महाधिवेशनमा जाने पनि बैठकमा बताएका थिए।
भेलामा सहभागी नेता डा गोविन्द पोखरेलले कोइरालालाई उदृत गर्दै भने, 'यदि जारी केन्द्रीय समितिबाट नियमित महाधिवेशनको मिति घोषणा गरेर कार्यतालिका अघि बढाइएन भने विशेष महाधिवेशन स्वतः हुन्छ। विशेष महाधिवेशन हस्ताक्षरकर्ताको भेलाबाट होइन, केन्द्रीय समितिकै निर्णयबाट हुन्छ। केन्द्रीय समितिले विशेष महाधिवेशनका कार्यविधिसहितमा काम गरेर आफैँ तयारी थाल्नुपर्ने हुन्छ।'
Shares

प्रतिक्रिया