ad ad

समाज


जाजरकोटमा पहिरोले घर पुरिँदा वडासदस्य दम्पती बेपत्ता

१९ वर्षीया छोरीको घाइते अवस्थामा उद्धार, १८ वर्षीया युवती सकुशल
जाजरकोटमा पहिरोले घर पुरिँदा वडासदस्य दम्पती बेपत्ता

घटनास्थल


दिनेश बुढा
भदौ २३, २०८१ आइतबार ८:५२, सुर्खेत

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्य दम्पती बेपत्ता भएको छ। 

गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए। 

‘गएराति पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान् ४७ वर्षीय मानबहादुर चलाउने बेपत्ता हुनु भएको छ,’ अध्यक्ष महताराले भने।

पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झनाको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ। तर, त्यस क्षेत्रमा यातायातको सुविधा नभएका कारण बोकेरै उनलाई उपचारका लागि लगिएको हो। उनको हात र मुखमा चोट लागेको छ। तर, बोल्न सक्ने अवस्थामा छिन्। 

अध्यक्ष महताराले वडासदस्य दम्पतीको अवस्था अझै अज्ञात रहेको र स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी गरिरहेको बताए।

सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया विमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

घाइतेलाई अस्पताल पुर्‍याउन हेलिकप्टर मगाइएको वडाध्यक्ष महताराले बताए। घर जीर्ण अवस्थाको रहेकाले पहिरोका कारण भत्ताभुंग भएको छ। 

गत कार्तिकमा गएको भूकम्पका कारण चलाउनेको घर चर्किएको थियो। सोही कारण उनीहरूको परिवार असार र साउन महिनाभर त्यो घरमा बसेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .