पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।
मंगलबार मेयर धनराज आचार्यले निःशुल्क बस सेवाको सुरुवात गरेका छन्। काठमाडौँको महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरले विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत-जावत गर्ने हवाई यात्रुलाई भरपर्दो, विश्वसनीय र सरल रूपमा आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यले बस सेवा सञ्चालन गरिएको मेयर आचार्यले बताए।

नमूना कार्यक्रमअन्तर्गत पहिलो चरणमा असार मसान्तसम्म निःशुल्क रहने बस सेवालाई प्रभावकारिता अनुसार परिष्कृत रूपमा सञ्चालन गरिने उनको भनाइ छ।
तत्कालका लागि बसहरू रिर्चाजका लागि पर्यटन बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्थापन गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार सेवा अवधि थपघट गर्न सकिने जनाइएको छ।
भविष्यमा यसको सेवा क्षेत्र विस्तार गरी पोखराका मुख्य गन्तव्य स्थलसम्म विस्तार गर्ने योजना समेत रहेको मेयर आचार्यले बताए।

Shares

प्रतिक्रिया