समाज


टोलटोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण

टोलटोलमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ८:५५, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हरेक टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ। 

स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिँदै आएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीको टोली प्रत्येक टोलमा पुगेर सुगर र रक्तचापको परीक्षण गर्ने व्यवस्था मिलाएको बताए। ‘ज्येष्ठ नागरिक, बालबालिका र विपन्न नागरिकलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौं,’ बरुवालले भने, ‘रोगको पहिचान गरी उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ।’

गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार दुई सय जना लाभान्वित भएका थिए। परीक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीलाई टोलटोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले जानकारी दिए। 

स्वास्थ्य संस्थामा पाइने औषधि लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीले परामर्शका साथै निःशुल्क औषधि उपलब्ध गराउँछन्। परीक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन्। टोलमा पुग्ने स्वास्थ्यकर्मीले बालबालिकालाई खोप, गर्भवती र नवजात शिशुको तौल पनि लिने गरेका छन्। 

टोलमै सेवा पाउँदा उपचार गर्न सजिलो भएको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतकी वीनाकुमारी तिलिजाले बताइन्। आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्यचौकी, ६ वटा सामुदायिक स्वास्थ्य एकाइ र एउटा आयुर्वेद स्वास्थ्य केन्द्र छ। 

छरिएका बस्ती रहेको र स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौं हिँड्नुपर्ने भएकाले टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad