समाज


कास्कीमा प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने १८ जना पक्राउ

कास्कीमा प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने १८ जना पक्राउ

पक्राउ परेकाबारे जानकारी दिँदै कास्की प्रहरी।


नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १८:५१, काठमाडौँ

पोखरा कास्की प्रहरीले प्रहरी कार्यालयहरू आगजनी र तोडफोडमा संलग्नमध्ये १८ जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअगाडि बढाएको छ।कास्की प्रहरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ती व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो। 

तीमध्ये जिल्ला प्रहरी कार्यालय कास्की तोडफोडको आरोपमा पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भइ हाल पोखरा ४ बस्दै आएका २४ वर्षीय राजेश मक्रान्ती,पोखरा ४,अधिकारी मार्ग बस्ने मासु व्यापारी ५४ वर्षीय नारायण साई,पोखरा ११ फूलबारीका २२ वर्षीय अरुण विक,पोखरा १, कसेरी बस्ने ४१ वर्षीय रुपेश मगर,पोखरा १,मोहोरिया टोलका ४३ वर्षीय दिपु साई रहेका छन्।
 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार मक्रान्ती यसअघि २०७९ सालमा अभद्र मुद्दामा मुछिएका व्यक्ति हुन्। भदौ २४ गते जिल्ला प्रहरी कार्यालय लुटपाट र आगजनीमा मक्रान्तीसहित नारायण साई र अरुण विकको प्रत्यक्ष संलग्नता देखिएको छ। 

रुपेश मगरले बगर प्रहरी चौकीमा आक्रमण गरेका थिए भने दिपु साईले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर प्रहरीको हतियार जलाएका थिए। 

यस्तै प्रहरीले अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा रहेको प्रहरी चौकीमा आगजनी गरेको आरोपमा अन्नपूर्ण गाउँपालिका ६ का २२ वर्षीय ग्रिस क्षेत्री, नयाँपुलकै ४३ वर्षीय लङबहादुर नेपाली,१९ वर्षीय अरविन विक,६२ वर्षीय थमबहादुर सार्की र ४२ वर्षको पूर्णबहादुर नेपाली रहेका छन्। 

पूर्णबहादुर अभद्र व्यवहार मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा रहेको र सो कार्यालय आगजनीपछि नयाँपुल पुगेर प्रहरी कार्यालय जलाएको कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

यस्तै कास्की प्रहरीले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगी हुलहुज्जत गर्ने तथा प्रहरीको पोसाक लगाएर फोटो खिचाउने ८ जनालाई पक्राउ गरेकोमा धरौटीसहित तारेखमा छाडेको जनाएको छ।

यसरी तारेखमा रिहा हुनेमा पोखरा ९,पृथ्वीचोकका २४ वर्षीय अमृत घले,पोखरा २० मौजाका ३९ वर्षीय चन्द्रबहादुर गुरुङ,रुकुम घर भइ पोखरा ८ बस्ने २४ वर्षीय दीपेश शाही ठकुरी,पोखरा १६ का २४ वर्षीय सुरेश गुरुङ,पोखरा ५ का २९ वर्षीय सागर अधिकारी,पोखरा २० मौजाका २२ वर्षीय सागर परियार,पोखरा ५ पस्र्याङका ४५ वर्षीय राजेश शाही र सोही ठाउँका २९ वर्षीय दीपेश शाह रहेका छन्।

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले उनीहरूलाई पक्राउ गरी लामो समय हिरासतमा राखेर अनुसन्धानपछि छाडिएको बताए। जेन–जी आन्दोलनमा संलग्नलाई कारवाही नगर्नु भन्ने गृहमन्त्रीको आदेशपछि उनीहरूलाई छाडिएको त हैन भन्ने प्रश्नलाई उनले खारेज गरे।

‘हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका थियौँ, आफ्नो काम भइरहेको थियो,यो नियमित प्रक्रिया नै हो र तिहारको मुखमा उनीहरूलाई धरौटीसहित तारेखमा छाडिएको हो,’ उनले भने। 

यसैबीच कास्की प्रहरीले असोज २७ गतेदेखि संचालनमा ल्याएको अपरेसन ३६५ अभियानअन्तर्गत स्वरुप परिवर्तन गरिएका १३३ वटा मोटरसाइकल पक्राउ गरिएको,तीमध्ये ३३ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइएको र १६ जनालाई सम्झाइ–बुझाइ छाडिएको पनि बताएको छ। 

जेनजी आन्दोलनको क्रममा कारागार र हिरासतबाट भागेकाहरूलाई पनि प्रहरीले पक्राउ गरिरहेको जानकारी दिएको छ। सो अभियानअन्तर्गत कास्की कारागारबाट भागेका ७७३ मध्ये ५२०,बाल सुधारगृहमा रहेका १०६ मध्ये ९१,कास्की प्रहरीको थुनुवा कक्षमा रहेका ६३ मध्ये ५,वडा प्रहरी बगरमा रहेका १२ थुनुवामध्ये १ र वडा प्रहरी कार्यालय बैदाममा रहेका ३३ मध्ये २६ जना पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad