जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीय नवीना खनालले नागरिकता प्राप्त गर्दा खुसीको सीमा थिएन। मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन्।
म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो। विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन्। बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो। तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चित हुनु परेको थियो।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर नवीनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरे। उनको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औठाछाप लगाउन मात्र बाँकी राखिएको थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नबीनालाई नागरिकता दिएका हौँ।’
यस्ता कार्यले सम्बन्धित परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास हुने उनले बताए। सीडीओले नागरिकता दिँदा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष मणिभद्र वाग्लेलगायत पनि उपस्थित थिए।
म्याग्दे–१ का अध्यक्ष वाग्लेले नविना नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट वञ्चित हुँदै आएकी थिइन्। सबैको पहल र प्रयासले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिएको उनले बताए। रासस
Shares

प्रतिक्रिया