समाज


जलजला जोड्ने पदमार्ग निर्माण

जलजला जोड्ने पदमार्ग निर्माण

नेपालखबर
साउन ४, २०८२ आइतबार १०:२६, म्याग्दी

म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ।

जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ। गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएको हो।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर दूरीमा ढुङ्गाको सिँढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिए।

‘परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो’, उनले भने, ‘बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू चार महिनासम्म निर्माणस्थलमै बास बसेका थियौँ।’ पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल निर्माण भएको छ।

तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी–वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ। मृगलगायत जङ्गली जनावर पनि देखिन्छन्।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।

आव २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनले बताए। यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको रु १५ लाख बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो। 

हिन्दू धार्मिकग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ। विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्तस्थल हो।

जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ। जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ। यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ। म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad