समाज


मध्यराति बाढी आइरहेको खोलामा जब चालकले बस हाले (तस्बिरहरू)

मध्यराति बाढी आइरहेको खोलामा जब चालकले बस हाले (तस्बिरहरू)

मध्यराति विनयी खाेलाले बगाएकाे बसबाट यात्रुकाे उद्धार गर्दै सुरक्षाकर्मी।


नेपालखबर
असार ६, २०८२ शुक्रबार ८:८, काठमाडौँ

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको एउटा यात्रु बसलाई गएराति पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। 

बाढीले बगाएको बसमा ३८ जना यात्रु सवार थिए। भे १ ख ४०८५ नम्बरको उक्त बसलाई गएराति करिब साढे ११ बजेतिर बाढीले बगाएको हो।

बस बाढीले बगाए पनि त्यसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। 

यात्रुकाे उद्धारमा नवलपरासी पूर्वका एसपी यादव ढकालको कमाण्डमा ३५ जना प्रहरी खटिएका थिए। ‘बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ,’ डीएसपी नेपालले भने, ‘यात्रु सबै सकुशल छन्। कसैलाई कुनै चोटपटक लागेको छैन।’

नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते नै भाँचिएका हुन्। पुल भाँचिएपछि ती ठाउँमा खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

‘विनयी खोलामा बाढी आएपछि बिहीबार बिहानदेखि नै त्यहाँ सडक अवरुद्ध थियो,’ एसपी नेपालले नेपालखबरसँग भने, ‘मध्यराति बाढी आइरहेको खोलामा चालकले किन बस हाले हामी अनुसन्धानकै क्रममा छौँ।’

बस बाँकेका २९ वर्षीय नरेन्द्र बोगटीले चलाएका थिए। उनी सँगै अर्का चालक बाँकैकै टीकाराम पाण्डे पनि थिए। लामो रुटमा चल्ने बसमा दुईजना चालक हुनुपर्ने नियम छ। 

विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा लगातार क्षति पुर्‍याउँदै आएको छ। त्यसैगरि दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

त्यस क्षेत्रमा अहिले पनि सयौँ सवारी साधन फसेका छन्। यात्रुको बिचल्ली भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बिहीबार सूचना जारी गर्दै नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा निर्माण गरिएकाे डाईभर्सन बगाएपछि यहाँ दिनहुँजसो यातायात अवरोध भइरहेको छ। यस वर्षमात्रै यो डाइभर्सन सात पटकसम्म बाढीले बगाएको छ।

हेर्नुहाेस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad