समाज


नारायणगढ–बुटवल सडक थप बन्द हुने

नारायणगढ–बुटवल सडक थप बन्द हुने

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ७:५५, नवलपरासी पूर्व

नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रको सडक रातको समयमा थप बन्द हुने भएको छ।

सडक विस्तारका लागि वैशाख ३१ गतेसम्म यो सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो। 

तर, सडक निर्माण कार्य पूरा नभएपछि वैशाख ३१ गतेसम्म सडक बन्द गर्न लागिएको हो।  नवलरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने छ। 

‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ’, उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ।’

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ। 

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए।
 
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ। 

रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad