ad ad

समाज


पहिरो खसेपछि बेनी–दरबाङ सडक अवरुद्ध

पहिरो खसेपछि बेनी–दरबाङ सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८१ मंगलबार १०:४४, म्याग्दी

अविरल वर्षापछि पहिरो खस्दा म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन्। 

अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। सडकमाथिको भिरमा गेगरैगेगर छ। खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, अध्यक्ष रोकाले भने, ‘म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ।’

उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ। डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ।

बेनी –४ र मंगला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ। 

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .