ad ad

समाज


रुसी सेनामा भर्ती भएका लमजुङका वाईसीएल नेताको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका वाईसीएल नेताको मृत्यु

नेपालखबर
माघ २, २०८० मंगलबार ११:१६, काठमाडौँ

रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन्। लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्। 

लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार (अटल) ले जानकारी दिए। 

‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले नेपालखबरसँग भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएकोरहेछ, यस्तो खबर सुन्नुपर्‍यो।’ 

पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो। यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो। 

साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए। पार्टी जिल्ला सचिव सुनारका अनुसार, श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन्। 

साजन पिता श्रीमान गुरुङका भनाई अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए। 

‘हामीलाई खाडी मुलुकमा जान्छु भनेको थियो, रुस जाने कुरा थाहै थिएन,’ श्रीमान्ले भने, ‘अहिले युक्रेनको आक्रमणमा परी मृत्यु भएको भन्ने खबर पाएका छौँ। त्यसबाहेक धेरै जानकारी छैन।’

आमा चेङ्दु गुरुङका अनुसार खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ति भएको जानकारी परिवारले असोजमा मात्र पाएको थियो। 

‘रुस पुगेपछि रुसी सेनाको ड्रेस लगाएर खिचेको फोटो पठाएको थियो’ शोकाकूल चेङ्दुले भनिन्, ‘केही दिन त कुराकानी हुँदै थियो, त्यसपछि १५–२० दिन ऊ बेपत्ता भयो, हामीले ऊबारे कुनै सूचना पाएनौँ।’

पिता श्रीमानका अनुसार, युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले दिएका थिए।‘रुसी सेनामा रहेका साजनका साथीहरुसँग कुमारको कुराकानी हुँदो रहेछ’ उनले भने, ‘कुमारमार्फत् नै हामीले साजनको मृत्यु भएको जानकारी पाएका हौँ।’ 

साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ। आफ्ना नागरिकहरुलाई रुसी सेनाबाट फिर्ता गराउन नेपालले आग्रह गरेपनि रुसले त्यसको रेस्पोन्स गरेको छैन। 

बरु रुसी सेनामा मृत्यु हुने नेपालीहरुको संख्या बढोत्तरी भइरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .