समाज


एउटै वडाको सेवा दुई ठाउँबाट


नेपालखबर
पुस १०, २०८० मंगलबार १२:५८, स्याङ्जा

स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ। 

भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले वडाको क्षेत्र ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा प्रवाह गरिएको हो।

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आएको वडाध्यक्ष नन्दलाल खनालले बताए। 

साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नम्बर वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनले जानकारी दिए।

‘हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौँ’, खनालले भने, ‘आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौँ।’

वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गएर सेवा दिँदै आएका छन्। 

सुरुका दिनमा केही अन्योलतामा भए पनि अहिले भने सेवाग्राहीलाई पूर्ण जानकारी भइसकेको वडाध्यक्ष खनालले बताए। ‘नभइ नहुने अत्यावश्यक सेवा, सिफारिस लगायतका कामका लागि दुईमध्ये जुनसुकै कार्यालयबाट लिन पाइन्छ,’ उनले भने।

वडा कार्यालयले दुई ठाउँमै भवन निर्माण गरी कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेको छ।

दुई ठाउँबाट सेवा पाउने भएपछि लामो समय खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्। उक्त वडामा हाल चार हजार सात सय  नागरिक बस्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad