समाज


यतीको जहाज दुर्घटना : डा. दम्पतीको एकै चितामा राखेर सेतीमा दाहसंस्कार

१५ महिने छोरालाई सेती किनारमा गाडियो
यतीको जहाज दुर्घटना : डा. दम्पतीको एकै चितामा राखेर सेतीमा दाहसंस्कार

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७९ आइतबार १८:३६, पोखरा

गत माघ १ गते सेती खोँचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका पोखरा महनगरपालिका–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ।

दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतवार सामूहिक दाहसंस्कार गरिएको हो।

काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो। 

सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ। नाबालक छोराको ब्रतबन्ध भइनसकेकाले सेती किनारमा गाडिएको छ। 

सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ।  

तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए। डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए। 

डा. सोना पनि एमडी गर्दै थिइन्। डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए। 

शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए। 

मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुन्। परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन। 

घरमा शव ल्याएपछि बुवा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए। सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छिन्। 

विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ। 

उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो। 

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो। 

'आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ', पालिखेले भने, 'सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ। भुल्छुभन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad