समाज


सेन्दाईमा ‘नेपाल फेस्टिवल’ हेरेपछि जापानी नागरिकले भने: म नेपाल जान चाहन्छु

सेन्दाईमा ‘नेपाल फेस्टिवल’ हेरेपछि जापानी नागरिकले भने: म नेपाल जान चाहन्छु

नेपालखबर
जेठ २४, २०८२ शनिबार १९:४३, काठमाडौँ

जापानको सेन्दाई सहरमा ‘नेपाल फेस्टिवल’ आयोजना गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), सेन्दाईले आयोजना गरेको फेस्टिवल शनिबार उद्घाटन गरिएको हो। 

आइतबारसम्म जारी रहने फेस्टिवलको पहिलो दिन नै २ हजारभन्दा बढी नेपाली सहभागी भएको एनआरएनए, सेन्दाईका संयोजक सन्दीप जीसीले जानकारी दिए। फेस्टिवलमा जापानी नागरिकको सहभागिता पनि उत्साहजनक देखिएको उनको भनाइ छ।

नेपाली बाजागाजा र झाँकी प्रस्तुत गरेर फेस्टिवल उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपालका विभिन्न जातीय समुदाय- सुदूरपश्चिम समाज, मगर समाज, गुरुङ समाज, नेवारी समाज, थारु समाजलगायतले आआफ्ना भेषभूषा, संस्कृति र परिकार प्रस्तुत गरे।

उद्घाटन समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले विदेशमा नेपाली समुदाय एकताबद्ध भएर आफ्नो संस्कृति र पहिचानलाई जगेर्ना गर्न लागिपरेको देख्दा गर्व लागेको बताए। यसले जापानमा नेपाली कला, भाषा र परम्परा प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे। 

उनले भने, ‘नेपालबाट टाढा भएर पनि हामी सबै नेपालीको आत्मा एउटै छ। यस्तो प्रकारको साझा उत्सवले हामीबीचको आत्मीयता र एकता अझ बलियो बनाउँछ।’

फेस्टिवल अवलोकन गर्न नेपालबाट आएका केदार तिवारीले फेस्टिवल साह्रै मन परेको सुनाउँदै नेपालमै रहेको अनुभव भएको बताए। 

उनले भने, ‘जता हेरे पनि नेपाली झण्डा, नेपाली गीत र नाच, नेपाली खाना र आफन्तको झल्को पाइयो। यस्तो कार्यक्रम बारम्बार हुनु आवश्यक छ।’

जापानी नागरिकले पनि नेपाली संस्कृति, पोसाक, नृत्य र परिकार मन परेको प्रतिक्रिया दिए। नेपाली परिकारको स्वाद मिठो लागेको बताए। 

जापानी नागरिक हिरोशी यामामोटोले भने, ‘नेपाली परिकार र नृत्य हेर्दा साँच्चै रमाइलो अनुभव भयो। म नेपाल जान चाहन्छु र यस्तो संस्कृति अझ नजिकबाट बुझ्न उत्साहित छु।’

फेस्टिवलको पहिलो दिन नेपालका विभिन्न समुदायका प्रतिनिधिले आफ्ना भाषा र संस्कृतिअनुरूपका गीत-संगीत प्रस्तुत गरे। केही प्रतिनिधिले जापानी भाषामै आआफ्ना समुदायका संस्कृति र भेषभूषाबारे वर्णन गरे। जसले जापानी दर्शकलाई बुझ्न सजिलो भयो। 

एनआरएनए, सेन्दाईका संयोजक जीसीले भने, ‘यो हामी सबै सेन्दाईवासी नेपालीका लागि गौरवको क्षण हो। आज जुन उत्साह र सहभागिता देखियो, त्यो हेर्दा नेपाल नै जापानमा ल्याइएको अनुभव भयो। जो आज आउन भ्याउनुभएन, उहाँहरूलाई हामी भोलि (आइतबार) स्वागत गर्नेछौँ।’

सेन्दाईमा ५ हजार हाराहारीमा नेपालीको बसोबास छ। फेस्टिवलले उनीहरूलाई आपसमा एक बनाउने अपेक्षा गरिएको छ।

सेन्दाईमा पहिलोपटक आयोजना गरिएको नेपाल फेस्टिवलले नेपाली मात्र नभई जापानीसमेत प्रभावित भएका छन्। 

यो फेस्टिवलले नेपाल–जापान सम्बन्धलाई पनि जनस्तरमा अझ बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

नेपाल फेस्टिवलको दोस्रो दिन आइतबार अझ सहभागिता बढ्ने अपेक्षा आयोजकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad