मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा म्याजिक चालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरमा बस र म्याजिक गाडी आपसमा ठोकिँदा मकवानपुरकै राक्सिराङ गउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो। कोइराला म्याजिकका चालक हुन्।
दुर्घटनापछि उनका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गको मनहरी बजारमा सडक अवरुद्ध गरेका हुन्।
अति आवश्यक बाहेका सबै सवारी साधन अहिले मनहरीमै रोकिएका छन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
आज बिहान चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ३०१२ नम्बरको म्याजिक आपसमा ठक्कर खाएका थिए।
चालक कोइराला खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ काेइरालालाई डाक्टरले मृत घोषणा गरेका थिए।
मृतकको शव अहिले सोही अस्पतालमा छ। बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Shares

प्रतिक्रिया