समाज


७६ वर्षका बाबुसँग वृद्धभत्ताको पैसाका लागि झगडा गर्दा...

७६ वर्षका बाबुसँग वृद्धभत्ताको पैसाका लागि झगडा गर्दा...

घटनास्थल


सुनिता विष्ट
पुस २२, २०८१ सोमबार ५:४७, हेटौँडा

सिन्धुलीको हरिहरपुरगढी नगरपालिका-३ चपराडाँडामा बुवाको कुटपिटबाट छोराको मृत्यु भएको छ। चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीले आफ्नै छोरा ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीलाई फलामको गलले प्रहार गर्दा मृत्यु भएको हो।

स्थानीयका अनुसार लिलाबहादुर प्रायः सधैँ रक्सी खाएर आमा बावुसँग झगडा गर्थे। शनिबार साँझ ८ बजेतिरको समयमा उनी रक्सी खाएर बावु डोमानलाई मुख छाड्दै घरको आगनमा आइपुगेका थिए। 

रक्सी खाएपछि आमा बावुसँग झगडा गर्ने गरेका लिलाबहादुरले शनिबार साँझ पनि उस्तै हर्कत देखाए। छोराले मुख छाड्दै बुवा डोमानमाथि हातपात गर्न थालेपछि ७६ वर्षका डोनामको हात रोकिएन। 

घरको एउटा कुनामा राखेको गल र कोदालोले छोरा लिलाबहादुरलाई प्रहार गर्दा उनी सख्त घाइते भए। लिलाबहादुरकी आमा बिल्कु सार्कीले श्रीमानलाई रोक्न खोजिन्। गाउँभरी हारगुहार गरिन्। बिल्कुका कान्छा छोरा टेकबहादुरले पनि दाइ र बुवाबीचको झगडा छुट्याउन खोजे। तर डोमानले गल प्रहार गर्दा लिलाबहादुरको टाउको देखि शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लाग्यो। 

टेकबहादुरले गाउँभरी हल्लाखल्ला गरे। गाउँका मानिसहरु जम्मा हुँदा लिलाबहादुरको धुकधुकी श्वास बाँकी रहेको सोही वडाका वडा सदस्य कमल बहादुर रानाले बताए। ‘सधैं रक्सी खाएर आउने, घरमा झगडा गर्ने गर्थे, वडासदस्य रानाले नेपालखबरसँग भने, ‘अति हुँदा खति हुन्छ भने जस्तै भयो। बावु चाँहिले रिसमा कोदालो र गलले हानेर शरीरमा प्वालै प्वाल बनाएछन्। गाउँका मान्छेहरु पुग्दा अलिअलि मात्रै श्वास बाँकी थियो रे। हेटौँडा अस्पतालमा मृत्यु भएछ।’

त्यसोत, लिलाबहादुरले आमा बावुको बृद्धाभत्ता आएपछि प्रायः पैसा मागेरै झगडा गर्ने गरेका स्थानीय बताउँछन्। केही दिन अघि मात्रै बुवा डोमान र आमा बिल्कुले बुद्धाभत्ता बुझेका थिए। सोही पैसा लिनका लागि लिलाबहादुरले बावुसँग झगडा गर्ने क्रममा झगडा परेको वडासदस्य रानाको भनाइ छ। 

‘यही पुस ११ गतेबाट बृद्धाभत्ता खुलेको थियो,’ उनले भने, ‘आवश्यक हुनले सोही दिनबाट आफ्नो खातामा आएको पैसा निकाल्न मिल्थ्यो। उहाँहरुले कहिले पैसा निकाल्नुभयो, चाहिँ थाहा भएन। तर बृद्धाभत्ताको रकम घर लगेकै कारण लिलाबहादुरले पैसा लिन बुवामाथि हातपात गर्न गएको भन्ने बुझिएको छ। सोही क्रममा बुवा छोरामाथि जाइलाग्दा यस्तो घटना घट्न पुग्यो।’

लिलाबहादुरको केही बर्ष अघि बिवाह भए पनि जाँडरक्सी खाएर हिँडेकै कारण श्रीमतीले छोडेको वडासदस्य रानाले बताए। उनका अनुसार लिलाबहादुर बावुआमासँगै बस्दै आएका थिए। 

मृतक लिलाबहादुरको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ। 

यता, छोराको उपचारको क्रममा मृत्यु भएपछि ७६ वर्षका डोमान जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad