ad ad

समाज


सिमलताल पहिरो :  त्रिशूलीमा  फेला परेका ३ वटै शवको पहिचान

सिमलताल पहिरो :  त्रिशूलीमा  फेला परेका ३ वटै शवको पहिचान

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार ९:३२, चितवन

नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ। ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बसका यात्रुको भएको प्रहरीले जनाएको छ। 

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। 

उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ। मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन्। 

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए। मृतक विकासको शव नजिकै फेला परेको अर्को शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ। 

उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए। 

गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ। मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेका प्रहरीले जनाएको छ। दुई शव शनिबार नै आफन्तले लगेका छन्।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बेपत्ता भएको थियो। 

काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए। बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ। 

पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .