समाज


पर्यटनसम्बन्धी गतिविधिमा नेपालीले गर्छन् साढे चार खर्ब खर्च

पर्यटनसम्बन्धी गतिविधिमा नेपालीले गर्छन् साढे चार खर्ब खर्च

नेपालखबर
असार १८, २०८३ बिहिबार १९:५, काठमाडौँ

नेपाली घरपरिवारले पर्यटनसम्बन्धी गतिविधिमा वर्षमा साढे चार खर्ब खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ मा यसबारे उल्लेख छ। 

नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा विस्तृत सर्वेक्षण गरिएको हो। पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित सर्वेक्षणले आन्तरिक तथा वाह्य पर्यटनका विविध पक्षहरूलाई समेटेको छ । 

सर्वेक्षणअनुसार, नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत (करिब ३६ लाख २१ हजार) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको बताएका छन्। पर्यटक घरपरिवारको औसत सदस्य संख्या ३.९४ रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले बताए। 

यस्तै, पर्यटनमा ग्रामिण क्षेत्रको हिस्सा शहरी क्षेत्रको तुलनामा बढी देखिएको पनि पोखरेलले बताए। यो रिपोर्टले प्रदेश सरकारलाई समेत पर्यटन नीति निर्माण गर्न उपयोगी हुने उनको भनाइ छ। 

‘प्रदेश सरकारलाई पनि पर्यटनसम्बन्धी नीति निर्माण तय गर्नलाई व्यवसायीलाई पनि त्यत्तिकै उपयोगी हुने र अन्य अध्ययन शोधकर्तालाई पनि एउटा शोध सामग्रीको रूपमा यसले काम गर्न सक्ने मैले महसूस गरेको छु,’ उनले भने। 

आन्तरिक भ्रमणमा ‘एकै दिन फर्किने’ पर्यटकको मुख्य उद्देश्य किनमेल (३२.६ प्रतिशत) रहेको पाइएको छ भने स्वास्थ्य उपचार र आफन्त भेटघाट समान २०.१ प्रतिशत रहेको छ। ‘रात बिताउने’ पर्यटकको हकमा भने ६५.५ प्रतिशतले साथीभाइ तथा आफन्त भेटघाटलाई मुख्य उद्देश्य बनाएको देखिएको पोखरेलले बताए। 

रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन र वार्षिक औसत भ्रमण आवृत्ति ४.८१ पटक रहेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा लामो (८.१८ दिन) पाइएको छ भने भ्रमण आवृत्तिका हिसाबले गण्डकी प्रदेश (६.२६ पटक) अगाडि रहेको छ। आन्तरिक पर्यटनका लागि काठमाडौं, चितवन र कास्की प्रमुख गन्तव्य जिल्लाका रूपमा देखिएका छन्। जसमा मनोरञ्जनका लागि कास्की सबैभन्दा लोकप्रिय रहेको छ ।

पर्यटकीय गतिविधिमा युवा पुस्ताको आकर्षण बढी देखिएको छ। आन्तरिक पर्यटकमध्ये २६.६ प्रतिशत जेनजी समूहका रहेका छन्। उमेर बढ्दै जाँदा भ्रमण गर्ने दरमा क्रमिक रूपमा कमी आएको सर्वेक्षणले देखाएको छ। 

यस्तै, नेपालीले गर्ने वाह्य भ्रमणको उद्देश्यमा मुख्यतया किनमेल र धार्मिक यात्रा देखिएको प्रमुख तथ्यांक अधिकारी पोखरेलले जानकारी दिए। सोही दिन फर्किने वाह्य भ्रमणमा ६३.९ प्रतिशत र रात बिताउने वाह्य भ्रमणमा ४०.३ प्रतिशत हिस्सा किनमेलको रहेको छ। बाह्य भ्रमणहरू विशेषगरी असोजदेखि पुससम्मको अवधिमा बढी हुने गरेको पाइएको छ। 

नेपाली घरपरिवारले पर्यटनसम्बन्धी गतिविधिमा वार्षिक कुल चार खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक पर्यटनमा तीन खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ र वाह्य पर्यटनमा ६३ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ। 

खर्चको शीर्षकअनुसार, किनमेलमा सबैभन्दा बढी (२६ प्रतिशत) खर्च हुने गरेको छ भने स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा प्रतिभ्रमण खर्चको हिस्सा अन्यको तुलनामा उच्च (३१.७८ प्रतिशत) रहेको छ। 

आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा आन्तरिक पर्यटनले अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको उनले बताए। यस्तै, आन्तरिक पर्यटनबाट सिर्जित कुल वस्तु तथा सेवाको उत्पादन तीन खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको र यसले कुल एक खर्ब ४४ अर्ब ४९ करोड बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको छ। 

आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटन एक बलियो आधारस्तम्भका रूपमा उदाएको पुष्टि गरेको उनको भनाइ छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस सर्वेक्षणको नतिजाले आगामी दिनमा पर्यटन नीति निर्माण, पूर्वाधार विकास र क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad