समाज


नयाँ बसपार्कमा मापसे जाँचः नाइट बसका तीन चालक पक्राउ, एक फरार

नयाँ बसपार्कमा मापसे जाँचः नाइट बसका तीन चालक पक्राउ, एक फरार

नेपालखबर
असोज १६, २०७६ बिहिबार ४:६,

दसैँको समयमा चालकले मादक पदार्थ खाएर गाडी चलाउने गरेको पाइएको छ।

नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जान लागेका बस जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीनवटा बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ ।

ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन।

पक्राउ पर्नेमा ना५ख १३२१ नम्बरको बसको चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नम्बरको बसका चालक शिवजी गिरी र बा४ख ९०६० नम्बरको बसका चालक रितेश नेपाल रहेका छन्। ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ।

वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारी साधनलाई मापसे जाँच गर्ने गरेको बताए।

“दशैँ लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुबाहक सवारी साधनका चालकलाई जाँच गरेका छौँ, बुधबार मात्र चार चालकलाई मापसे सेवन गरेको भेट्टायौँ”, उनले भने।

पक्राउ पर्नेलाई कानूनबमोजिम कारवाही गरिने प्रहरी निरीक्षक थापाको भनाइ छ। नयाँ बसपार्कबाट हाल दैनिक ७०० को हाराहारीमा देशका विभिन्न भागमा सार्वजनिक सवारी साधन आवतजावत गर्ने गरेका छन्।

मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ।

नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर चाडवाडको समयमा हुने दुर्घटना कमी गर्न हरेक सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरिएको बताए। “नयाँ बसपार्कबाट छुट्ने अधिकाशं सार्वजनिक सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर उपत्यका बाहिर पठाउँदै आएका छौँ”, कुँवरले भने।

ट्राफिक प्रहरीले चाडवाडको सुरक्षालाई ध्यानमा राखेर उपत्यकाका ३०० स्थानमा सवारी साधन जाँच गर्दै आएको छ।

प्रत्येक वर्ष चाडवाड मनाउन २५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म १२ लाख यात्रु दशैँ मनाउन घर गइसकेका छन्।

नेपाल प्रहरीले उपत्यकामा हुने टिकट कालोबजारीलाई रोक्न उपत्यकाका मुख्य बसपार्कहरुमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ। सादा पोशाकमा प्रहरी परिचालनसँगै टिकटमा हुने अनियमिततामा कमी आउने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad