यति बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरण सबैतिर चर्चा र चासोको विषय छ। के गाउँ, के सहर, जताततै यसबारे गफिनेका लागि बहसको विषय छ।
शालीन मानिएका नेता यस्तो काण्डमा मुछिएपछि धेरैजनालाई अनौठो लागेको खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्। अर्कातिर ‘नेताहरू सबै उस्तै हुन्’ भन्दै नामबेनाम अनेक राजनीतिज्ञका सुरासुन्दरी काण्डबारे चोकचोकमा चर्चा पनि चलिरहेको छ।
‘धेरै नेताका भित्री पाटो खुल्न गयो भने यस्तै बबाल हुनेवाला छ,’ नेताहरूसँग हिमचिम गर्दै आएका एक अधिकारकर्मी भन्छन्, ‘संयोगवश महराको बाहिर आयो र उनी आलोचित हुन पुगे । केही अरूका पनि अवस्था योभन्दा फरकचाहिँ छैन।’
भ्रष्टाचारबाहेक सुरा र सुन्दरी काण्डका अनेक चर्चा परिचर्चा हुँदै आए पनि आरोपको एकै निमेषमा सबै पदप्रतिष्ठा गुमाउने उच्च ओहदाका नेता महरा नै पहिलो हुन् ।
यसअघि कृषिमन्त्री हरि पराजुलीले असार पन्ध्रका दिन रोपाइँमा महिलासँग अभद्र व्यवहार गर्दा पद गुमाउनुपरे पनि यति ठूलो तहमा आलोचित हुनुपरेको थिएन ।
‘मान्छे जति उच्च ओहदामा पुग्यो, सामान्य मानवीय अवगुण उदांग भएबापत उति नै क्षति व्यहोर्नपर्ने जोखिममा पनि हुन्छ,’ सबैजसो ठूला नेताहरूको धड्कन नापिसकेका मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला भन्छन्, ‘किनभने जति धेरै सार्वजनिक जीवनमा तपाईं होमिँदै जानुहुन्छ, उतिधेरै तपाईंका व्यक्तिगत मामिला निगरानीमा पर्दै जान्छन् ।’
उनको बुझाइमा समाजले एक आदर्श, सभ्य र इमानदार नेताको कामना गरिरहेको अवस्था एकातिर र अर्कातिर चाहिँ अरू सामान्य मानिसझैं नेताहरू पनि मानवीय कमजोरीसहित नै सार्वजनिक जीवन व्यतित गरिरहेको वास्तविकता भएकाले ‘नेपाली समाज ढोंगीहरूले भरिएको छ।’
‘समाजमा ढोंग हुन्जेलसम्म घटनाहरू पनि यस्तै अप्रत्याशित नै भइरहन्छन्,’ उनले भने, ‘किनभने, सामान्य मानिस आफूचाहिँ जस्तो भए पनि नेता गतिलो होउन् भन्ने चाहन्छन्, जो कहिल्यै सम्भव हुँदैन । नेताहरूमा पनि आफू सार्वजनिक व्यक्ति भएकाले बढी अनुकरणीय भएर समाजमा प्रस्तुत हुनुपर्छ भन्ने भावना छैन ।’
यस्तो अमिल्दो अवस्थाले व्यवहार एकातिर र बोली वचन अर्कोतिरको विरोधाभासपूर्ण स्थितिले पुरै समाजलाई ग्रसित पारेको डा. कोइरालाको विश्लेषण छ ।
‘नेताहरू मात्रै होइन, हुनुपर्ने हामी सबै नै आदर्श प्रतिरूप हो,’ प्रतिनिधिसभा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठ भन्छिन्, ‘हरेक मानिस इमानदार, नैतिक र स्वच्छ चरित्रको हुनुपर्छ, यसको विकल्प हुनुपर्छ भन्ने म मान्दिनँ।’
तर के, हाम्रो समाज र यसका नेता उनले भनेजस्ता छन् त ? ‘छैन’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘न नेता भनेजस्ता सच्चरित्रका छन् न जनता नै ।’
उनको विश्लेषण छ, व्यवस्था पश्चिमा दर्शनको र समाजको आनीबानी पुरातन ढाँचाको भएकाले हाम्रो राजनीति ढोंगी भएको हो ।
‘म जस्तो भए पनि मेरो नेता स्वच्छ चरित्रको हुनुपर्छ भन्ने मान्यता पश्चिमा राजनीतिको हो, जहाँ सापेक्षमा इमान र सच्चरित्र भएकालाई मतदाताले जिताउने गर्छन्, त्यसैले त्यहाँका नेता आफ्नो चरित्रप्रति बढी संवेदनशील हुन्छन्,’ ढकाल भन्छन्, ‘तर, हाम्रो समाजले नेताको चरित्र होइन, उसले जितेर गएपछि आफूलाई पर्दा संरक्षण गर्न सक्छ कि सक्दैन भन्ने आधारमा मत हाल्छ, त्यसैले नेताहरू सच्चिनुपर्ने र असल हुनुपर्ने सामाजिक ढाँचाको जरुरत नै पर्दैन ।’
यस्तो संरक्षण खोज्ने समाजको ढाँचालाई मानवशास्त्रले जजमानी समाज ९प्याट्रोन क्लाइन्ट सोसाइटी० भन्ने गरेको छ । पश्चिमा आदर्शको पूर्ण लोकतन्त्र संविधानमा लेखिए पनि समाजको चरित्र भने उही जजमानी भएकाले व्यवहार र प्रतिबद्धताहरूमा फरक पर्न गएको ढकालको बुझाइ छ ।
नेता जतिसुकै सुरासुन्दरीमा लागेको भए पनि र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको भए पनि पटकपटक चुनावमा जितिरहनु र राजनीतिमा उही पुरानो अनुहार वर्षौंदेखि रहिरहनुमा उनी यही सामाजिक ढाँचालाई कारण मान्छन् ।
ढकालका अनुसार परेका बेला आफ्नै गडबडलाई पनि नेताले ढाकछोप गरिदेओस् भन्ने कामना समाजका अधिकांशले गर्ने भएकाले नेताहरू जुनसुकै बानी व्यहोरा र चरित्रका बाबजुद सत्तामा रहन सफल हुँदै आएका छन् ।
‘हाम्रो संविधान, हाम्रो व्यवस्था अघिअघि छ, हामी निकै पछाडि छौं,’ उनी भन्छन्, ‘यो अवस्थालाई बदल्ने हो भने पूरा समाजलाई लोकतन्त्रको मर्म र भावनाअनुसारको आचरण गर्न प्रशिक्षित गर्नुपर्छ, त्यसो भयो भने मात्रै नेताहरू सच्चरित्र हुन बाध्य हुन्छन् ।

प्रतिक्रिया