आज (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली छ। केही ठाउँमा हल्का वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् विभूती पोखरेलका अनुसार अहिले देशको मध्य भागको धेरै ठाउँमा सामान्य बदली छ भने पश्चिम र पूर्वी क्षेत्रमा कोही ठाउँमा आंशिक बदली छ।
तर, आज, भोली देशभर नै ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताइन्।
‘मानिसमा दसैँमा पानी पर्छ कि पर्दैन भन्ने जिज्ञासा छ, पानी पर्यो भने हिँडडुल गर्न समस्या हुने चिन्ता छ,’ पोखरेलले नेपालखबरसँग भनिन्, ‘मनसुन कमजोर भएकाले अब नेपालमा ठूलो पानी पर्ने सम्भावना छैन। दसैँ अबधिमा पनि ठूलो पानी पार्ने प्रणाली देखिँदैन।’
तर, नेपालबाट मनसुन अझै बिदा भइसकेको छैन। यसले कतैकतै सामान्य वर्षा भने दसैँको अबधिमा पनि हुन सक्ने उनले बताइन्।
अहिले काठमाडौं उपत्यकामा पनि मौसम बदली छ। आकाश बादलले ढाकेको छ। तर, अपरान्हपख सामान्य वर्षा भएपनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको पोखरेलले बताइन्।
मौसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा भारतको उत्तर प्रदेश आसपास छ। यसैको प्रभावस्वरुप नेपालमा मौसम बदली भएको हो।
सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्ले बताउँदै आएका छन्।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असोज १६ गते (बिहिबार)
दिउँसोः देशभरि आंसिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातिः देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
असोज १७ गते (शुक्रबार)
दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातिः देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।
असोज १८ गते (शनिबार)
दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातिः देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रतिक्रिया