ad ad

समाज


चन्द्रागिरिको ६ करोड मूल्य पर्ने सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा, ६ जना पक्राउ

चन्द्रागिरिको ६ करोड मूल्य पर्ने सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा, ६ जना पक्राउ

नेपालखबर
असोज ८, २०७६ बुधबार ११:२७,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चन्द्रागिरि नगरपालिका २ मा रहेको ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा गर्ने ६ जनालाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशपछि सीआईबीले धादिङकी मिना कुमारी थापा, राम कुमार सुयाल थापा, कानुन व्यवसायी राम बहादुर शाह, तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल, गोरखाका कानुन व्यवसायी बाबुराम शर्मा रेग्मी र ओखलढुंगा माम्खाका कानुन व्यवसायी योगेन्द्र पोखरेललाई पक्राउ गरी मुद्दा चलाएको छ।

जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी हाल उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको सीआईबीले जनाएको छ। उनीहरुले कीर्ते गरेको भनिएको ९२ रोपनी २ आना जग्गाको सरकारी मूल्य ५ करोड ८९ लाख ६० हजार रुपैयाँ पर्ने भन्दै सीआईबीले सोही रकम बिगो कायम गरेको जनाएको छ।

उक्त जग्गा चन्द्रागिरि नगरपालिका २ को कि.नं. १०१ को जग्गा हो। वन क्षेत्र रहेको सार्वजनिक सरकारी वनको उक्त जग्गाहरु रामबहादुर शाहको योजनामा मिना कुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पुर्जा बनाई कायम गराई राम कुमार सयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्री गर्न कागजात तयार नै भइसकेको थियो।

यससम्बन्धी मिनाले करारबमोजिम पास नगरेको भनी ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध फिराद पत्र दर्ता गराई उक्त जग्गा सुयल हाउजिङ कम्पनीको नाममा दर्ता गरे हुन्छ भन्ने एकअर्काबीच मिलापत्र भएको भनी मालपोत कार्यालय कलंकीबाट कम्पनीको नाममा जग्गाको स्रेस्ता कायम गरी पुर्जा दिइएको खुलेको छ।

त्यस्तै सोही जग्गाबाट कित्ताकाट गरी दुई रोपनी जग्गा व्यक्तिविशेषलाई बिक्रीवितरण गरेको समेत पाइएको छ। सीआईबीका अनुसार कम्पनीमा रामबहादुर शाहको ७५ प्रतिशत सेयर भएको सम्झौताहरु समेत भएको पाइएको छ।

सीआईबीका अनुसार मिना उक्त जग्गा धनी भई कागजात बनाउने, राम कुमार सुयल थापाले कम्पनीको सञ्चालक बनेको, कानुन व्यवसायी रामबहादुर शाहले कागजात बनाउने र मुख्य योजना बनाउने गरेको तथा मालपोत अधिकृत शिव प्रसाद रिमालले कम्पनीको नाममा स्रेस्ता खडा गरी जग्गा धनी प्रमाण पुर्जा दिएको पाइएको छ। त्यस्तै, अर्का दुई कानुन व्यवसायीहरु बाबुराम रेग्मी र योगेन्द्र पोखरेलले भने उक्त आपराधिक काममा सघाएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .