समाज


गाउँपालिकाको केन्द्र सार्न लागेको विरोधमा २ वडा कार्यालयमा तालाबन्दी

गाउँपालिकाको केन्द्र सार्न लागेको विरोधमा  २ वडा कार्यालयमा तालाबन्दी

नेपालखबर
असोज २, २०७६ बिहिबार ८:२९,

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ।

गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो। समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न संघ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो। उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं. ४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन्। उनीहरुले संघर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन्। गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताए।

गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए। सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । सङ्घर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताए।

गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार बजेट

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको हो। गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न विज्ञ टोली बोलाउन रु १२ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए।

सामाजिक, भौगोलिक र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो। उनले भने, ‘भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनौट हुन्छ।’ टोलीको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रबारे निर्णयले गर्ने पनि अध्यक्ष बोहराले जानकारी दिए।

राज्य पुनःसंरचना हुँदा सविकको डिलाशैनी गाविस (हालको वडा नं ७) मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो। गएको १ वर्षदेखि तोकिएको केन्द्र भन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ। गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि वडा नं ३ पसेराबाट कामकाज भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad