नेपाली सेनाले शान्ति सेनामा खटिने आफ्ना सिपाहीहरुको भत्ता नौ हजार सात सय ६० रुपैयाँ प्रतिमहिना वृद्धि गरेको छ। सैनिक ऐन २०६३ बमोजिम गठित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको भदौ ३० को बैठकले उक्त निर्णय गरेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले भत्तादरमा पुनरवलोकन गरी तल्लो दर्जाका बन्दोबस्ती कार्य सिपाहीको भत्ता एकैपटक ८५ अमेरिकी डलर बढाउने निर्णय गरेको हो। हाल प्रतिमहिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९ मा अमेरिकी डलर ८५ थप गरी प्रतिमहिना अमेरिकी डलर १ हजार १ सय १४ पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रतिमहिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १ हजार ३ सय ७८ मा अमेरिकी डलर २१ थप गरी प्रतिमहिना अमेरिकी डलर १ हजार ३ सय ९९ कायम गरिएको छ।
सेनाले अन्य मुलुकहरुको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरवलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरिएको थियो। कार्यदलबाट प्राप्त राय÷सुझावका आधारमा वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भएको छ।
सेनाले तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरेको जनाएको छ। यसरी वृद्धि गरिएको भत्तादर आगामी अक्टोबर १ तारिखबाट लागू हुनेछ।

प्रतिक्रिया