समाज


महाकाली कोरिडोरको ईआईए तयार

महाकाली कोरिडोरको ईआईए तयार

नेपालखबर
भदौ २८, २०७६ शनिबार १२:५,

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भएको छ।

सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो।

डीपीआर सडक निर्माणका क्रममा हुने जंगलको क्षति, खेतीयोग्य जमिनको क्षति, घरपरिवार विस्थापितलगायत वातावरणीय प्रभावका कुराहरु आँकलन गरेको टोलीप्रमुख रेशम बाँनियाले जानकारी दिए। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ।

कोरिडोरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएको छ। यस्तै चार वटै स्थानीय तहमा करिब ३५ हेक्टर जंगल नष्ट हुने बताइएको छ। कोरिडोर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ।

पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार संख्या संकलनको काम भइरहेको छ। कोरिडोरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्तिबापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ।

एघार मिटर अर्थात् दुई लेन चौडाइ रहने सडक निर्माणका क्रममा झण्डै पाँच हजार ठूला रूख र सात हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ।

कोरिडोरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ। कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएसँगै कोरिडोर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ। महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दूरी २९१ किलोमिटर छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad